काठमाडौँ । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा काठमाडौँमा नेपाल–भारत १०औँ समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा दुवै देशका सुरक्षा प्रमुखहरूले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, मानव बेचबिखन, लागूपदार्थ नियन्त्रण तथा तेस्रो मुलुकका नागरिकको अनधिकृत प्रवेश रोक्न शीघ्र सूचना आदानप्रदान र सहकार्य सुदृढ गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेका छन्।
दशगजा क्षेत्रको अनधिकृत अतिक्रमण र अवैध संरचना हटाउने तथा सीमा स्तम्भको मर्मत र पुनर्निर्माणका लागि फिल्ड तहमा समन्वय बढाउने सहमति भएको छ। साथै, सीमा सुरक्षालाई आधुनिक र प्रविधिमैत्री बनाउन सिसीटिभी, लगेज स्क्यानर, वाक–थ्रु मेटल डिटेक्टर तथा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचना नियन्त्रण गर्न संस्थागत सहकार्य गर्ने र प्राकृतिक विपद् व्यवस्थापनका लागि तालिम आदानप्रदान गर्ने निर्णय समेत गरिएको छ। वैधानिक यात्रुको सहजताका लागि सहायता कक्ष विस्तार गर्ने तथा संयुक्त खेलकुद र सांस्कृतिक कार्यक्रममार्फत आपसी सौहार्दता बढाउने सहमति भएको छ। सन् २०१२ देखि वार्षिक रूपमा पालैपालो आयोजना हुँदै आएको यो द्विपक्षीय बैठक आगामी वर्ष भारतमा हुने सशस्त्र प्रहरी प्रवक्ता नेत्र बहादुर कार्कीले जानकारी दिनुभयो।