भगवानपुर । भारतको २२औँ वाहिनी सशस्त्र सीमा बल (एसएसबी) भगवानपुरद्वारा शहीद आरक्षी अमित कुमार तिवारीको स्मृतिमा भारत–नेपाल सीमा क्षेत्रमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न भएको छ। दुवै देशका सुरक्षा निकायबीच आपसी सद्भाव, भाइचारा र सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा नेपाल र भारतका सुरक्षाकर्मीहरूले उत्साहजनक सहभागिता जनाएका थिए।
प्रतियोगितामा भारतका तर्फबाट एसएसबीका सशस्त्र प्रहरी निरीक्षक राम अवतार, विशाल कुमार, मन्टु कुमार, विक्रम जाट, भगत सिंह, सबूलाल मीना र मजीबउर्रहमानले प्रतिस्पर्धा गर्नुभएको थियो। त्यसैगरी, नेपालका तर्फबाट सशस्त्र प्रहरी बल नेपाल (बिओपी) पजकट्टीका प्रहरी निरीक्षक उपेन्द्रबहादुर टेरको नेतृत्वमा रमेश चौधरी, लक्ष्मण, रामगोपाल, लीलाबहादुर, प्रेमबहादुर, सागर र गोपाल खड्काले प्रतिस्पर्धा गर्नुभएको थियो।
खेलपश्चात् आयोजित समापन समारोहमा विजेता टोलीलाई ‘शहीद आरक्षी अमित कुमार तिवारी स्मृति कप’ प्रदान गरिएको थियो। कार्यक्रममा उपस्थित अधिकारीहरूले यस प्रकारका खेलकुद गतिविधिले नेपाल र भारतका सीमा सुरक्षा बलबीचको सुसम्बन्धलाई अझ गहिरो बनाउन तथा आपसी समन्वय र सहकार्यलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।