पाल्पा । वैदिक कालदेखि माउँदै आइएको पर्व नागपञ्चमीका दिन पहिलेपहिले गाउँघरमा बिहानैदेखि चहलपहल हुन्थ्यो । घरका मूलढोका, गोठ र तुलसीको मठमा नागको चित्र टाँसिन्थ्यो । गाईको गोबर, दूध, अक्षता, फूल र दुबो लिएर नाग देवताको पूजा गरिन्थ्यो भने पुरोहित घरघर पुग्थे ।
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परेको छ । आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा तस्विर तथा प्रतिमा टाँसेर यो पर्व मनाइएको छ । यसरी नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ ।
यस पर्वसँग जोडिएको मौलिक संस्कार भने पछिल्लो समय विस्तारै हराउँदै गएको भन्दै पुरानापुस्ता चिन्तित बनेका छन् । धार्मिक तथा सांस्कृतिक पक्षभन्दा देखावटी, सामाजिक सञ्जाल र बजारमुखी प्रवृत्तिले पर्वको प्राथमिकता र महत्त्व हराउन थालेको यहाँका ज्येष्ठ नागरिक बताउँछन् ।
“पहिले नागपञ्चमी भनेपछि घर सफा गर्ने, नागको चित्र बनाउने, पूजा गर्ने र परिवारका सबै सदस्य मिलेर बिहानैदेखि नागको पूरा गर्ने परम्परा थियो”, माथागढी गाउँपालिकाका ८३ वर्षीय कृष्ण पराजुलीले भन्नुभयो, “अहिले बजारमा तयार भएका चित्र ल्याएर टाँस्ने र पूजा गरेजस्तो गर्ने चलन बढेको छ । नयाँ पुस्ताले यसको अर्थ र महत्व बुझ्न पाएका छैनन् ।”
पहिला नागपञ्चमीको तयारी हप्तौँदिन अघिदेखि हुने बताउँदै पुरानो पुस्ताका लागि नागपञ्चमी एउटा धार्मिक पर्व मात्र नभई घर, खेत, गोठ र प्रकृतिसँग जोडिएको संस्कारका रूपमा रहेको उहाँले अनुभव सुनाउनुभयो । “पहिले गाउँघरमा नागपञ्चमीका लागि आवश्यक सामग्री जुटाउने काम केही दिनअघिदेखि नै सुरु हुन्थ्यो । अहिले पसलमा सबै सामान पाइन्छन्”, तानसेन काजीपौवाकी ७५ वर्षीया कमला रायमाझीले भन्नुभयो, “घरमै चाहिने सामग्री जुटाउनुपथ्र्यो । त्यसैले पनि पर्व आउनुअघि छुट्टै उत्साह हुन्थ्यो ।” पर्वसँग जोडिएको सामूहिकता, मौलिक भाषा, कथा, लोकविश्वास र प्रकृतिप्रतिको सम्मान हराउँदै गएकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
रायमाझीले भन्नुभयो, “समयसँगै संस्कार परिवर्तन हुन्छ । परिवर्तन हुनु नराम्रो होइन, तर परिवर्तनका नाममा आफ्नो मौलिकता, परम्परा र इतिहास बिर्सनु हुँदैन ।” घरका मूल ढोकामाथि नागका तस्बिरमा दही, दुबो, लाजा, चन्दनअक्षता, नैवेध, धुपदीपसहित विधिपूर्वक पूजा गर्ने चलन भए पनि पछिल्लो समय यस्तो परम्परा हराउँदै गएको उहाँले बताउनुभयो ।
पछिल्लो समय मानिसमा बढेको आधुनिकपन, देखासिकी, व्यस्ततालगायत कारणले पनि जतिसक्दो छिटो नाग टाँस्ने र पूजा सक्ने चलन बढेसँगै परम्परागत पूजा विधि लोप हुँदै गएको स्थानीय पराजुलीले बताउनुभयो । सहरी जीवनले नागपञ्चमीको स्वरूपलाई अझ धेरै परिवर्तन गरेको छ । अपार्टमेन्टमा बस्ने, व्यस्त सहरी जीवनयापन गर्ने बढ्दै जाँदा यस्ता परम्परा ओझेलमा पर्ने गरेका उहाँको बुझाइ छ ।
गाउँमा भने अझै पनि कतिपय ठाउँमा परम्परागत विधि कायम छन् । तर बसाइँसराइ, युवापुस्ताको विदेश पलायन र आधुनिक जीवनशैलीका कारण पुराना संस्कार निरन्तरता पाउने विषयमा प्रश्न उठ्न थालेको पण्डित विष्णु आचार्यले बताउनुभयो । विधिविधान र पुरानो रितिथितिअनुसार नागपूजा गर्न कठिन हुने बताउँदै सोही कारणले सहरी क्षेत्रमा यसको महत्त्व घट्दै गएको उहाँले उल्लेख गर्नुभयो ।
“विधि विधानअनुसार पूजाआजा गर्न खोजे पनि पछिल्लो समय सहरी भेगमा शुद्ध गाईको दूध, गोबर तथा दुबोे अभाव हुन थालिसकेको छ”, पण्डित आचार्यले भन्नुभयो, “कति सामग्री जुटाउनै कठिन हुन थालिसकेको छ । नाग टाँस्दा सिक्का पनि टाँस्ने चलन छ, अचेल सिक्का पाउनै मुस्किल भइसकेको छ ।”
नयाँ पुस्ता के भन्छन् ?
नयाँ पुस्ताका लागि नागपञ्चमीको अर्थ पुरानो पुस्ताको भन्दा केही फरक छ । युवाहरूले परम्परासँग जोडिएका सांस्कृतिक र पर्यावरणीय पक्ष खोज्नुपर्ने बताउँछन् । कतिपय युवाहरू नागपञ्चमीलाई प्रकृति र जैविक विविधतासँग जोडेर बुझ्नुपर्ने बताउँछन् । बागलुङका नीरज शर्माले नागपञ्चमी पर्व संस्कृतिसँगै सर्प र वातावरण संरक्षणका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । पुरानोपुस्ताले जोगाएको संस्कार र नयाँपुस्ताले खोजेको वैज्ञानिक चेतनाबीच संवाद गराउने एउटा अवसर नागपञ्चमी रहेको उहाँको बुझाइ छ ।
साँच्चिकैका नाग मासिँदैछन् ?
नागपञ्चमीका दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत गर्न हुँदैन र नाग, सर्पलगायत घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता थियो । यस दिन घरका ढोकामा कागजका नागका तस्बिर टाँसेर पूजा गर्ने प्रचलन छ । तर वातावरण सन्तुलन कायम राख्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने नाग पहिल्लो समय वास्तवमै मासिँदै गइरहेका छन् ? भन्ने गम्भीर प्रशन् उब्जाएको छ ।
नाग पुज्दै आइएको हाम्रो समाजमा सर्प देख्ने बित्तिकै मार्ने चलन अझै पनि छ । सोही कारण सर्प जमिनबाट नाँसिदै गएका सर्प र भ्यागुताको अध्ययन गर्दै आउनुभएका गुल्मीका विष्णु अधिकारीले बताउनुभयो । मानवीय कारणले सर्प लोपोन्मुख बन्दै गएका अनुसन्धानकर्ताले बताएका छन् ।
“सर्पले टोक्ने बित्तिकै मानिस मर्छ भन्ने परम्परागत धारणा मानिसमा छ”, अध्ययनकर्ता अधिकारीले भन्नुभयो, “यसले टोकेर मानिस मरिहाल्दैन । असावधानी अपनाउँदा र झारफुकमा लाग्दा जोखिम बढी हुन्छ ।” त्यसमाथि सबै सर्प विषालु नहुने भएकाले आवश्यक सावधानी अपनाउनु र चिकित्सकको निगरानीमा बस्नुपर्ने उहाँको सुझाव छ ।
आवश्यक सावधानी अपनाउँदा र चाँडै अस्पताल पुग्दा विषालु सर्पले टोके पनि मानिसको ज्यान बच्ने उहाँले बताउनुभयो । अधिकारीले सर्प पनि नागकै रुप भएकाले यिनीहरूलाई जोगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सर्प पनि नाग नै हुन् । यी प्रकृतिका लागि आवश्यक पर्ने, धार्मिक मान्यताअनुसार नागको पूजा गर्दा नाग, सर्प, बिच्छीलगायत जीवले दुःख नदिनेतथा अग्नि, मेघ र चट्याङको भयबाट बच्न सकिने धार्मिक विश्वास छ ।”