भैरहवा । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुक प्राकृतिक प्रकोपको विपद्सँगै गम्भीर राजनीतिक तथा आर्थिक सङ्कटबाट गुर्जिरहेको बताउनुभएको छ । जसपा नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष यादवले देशमा अहिले पनि सुशासन कायम हुन नसकेको टिप्पणी गर्नुभयो।
विगतका निर्वाचनमा नयाँ नारा लिएर आएका शक्तिहरूले बहुमत पाए पनि विकास र सुशासन दिन नसकेको उल्लेख गर्दै उहाँले गरिब जनतामाथि करको भार थप्नु अन्यायपूर्ण भएको बताउनुभयो। मुलुकको आर्थिक क्षेत्र, कृषि, उद्योग र पर्यटन खस्कँदै गएको तथा भ्रष्टाचार र कमिसनतन्त्रको शैली मात्र फेरिएको उहाँको आरोप थियो।
विगत ३४ वर्षमा पटक-पटक सरकार फेरबदल र राजनीतिक अस्थिरता हुँदा जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको भन्दै उहाँले प्रमुख दलहरू मुलुकलाई आर्थिक समृद्धि र न्याय दिलाउन असफल भएको दाबी गर्नुभयो। सो अवसरमा अध्यक्ष यादवले पार्टीको अनुशासन र निर्णयविपरीत काम गर्ने जोसुकैलाई पनि कारबाही गरिने चेतावनीसमेत दिनुभयो।