तातो हावा (लु) ले कष्टकर बन्दै तराईको जनजिवन

राधेश्याम विश्वकर्मा 21+ समाचार ( )
१० वैशाख २०८१, सोमबार

भैरहवा । बैशाखको पहिलो साता नै भैरहवा तथा यस आसपासको अधिकतम तापमान करिब ४४ डिग्री पुगेको छ । बैशाखको पहिलो सातामै तिव्र गति र तातो हावा (लु) चल्दा यस क्षेत्रको जनजिवन कष्टकर बन्दै गएको छ । ठाउँठाउँमा आगोलागीको घटनाहरु भइरहेका छन् । यसबाट लाखौंका धनमाल नष्ट भएको छ । गर्मी बढ्दै जादा बाटोहरु सुनसान हुदै गएका छन् भने अस्पतालमा बिरामीको चाप बढेको छ ।

बैशाखमै तापक्रम बढ्दै जादा तराईमा गर्मी बढ्दो रहेको छ । शनिबार नेपालमै सबै भन्दा बढी गर्मी (४३ दशमलव ६ डिग्री) भैरहवामा मापन भएको छ । आईतबार पनि भैरहवाको पारा चढेकै थियो । आईतबार ४० दशमलव ६ डिग्रीले केही कम गर्मीको महशुस गराए पनि सोमबार भने फेरी गर्मीले प्रचण्ड रुप लिएको छ । सोमबार भैरहवाको तापमान करिब ४३ डिग्री पुगेको छ । 

भैरहवामा अन्य ठाउँभन्दा बढी नै गर्मि हुन थालेपछि जनजीवन कष्टकर बन्दै गएको छ । रुपन्देही लगायतका जिल्लाहरुमा गर्मि बढ्दै गएपछि स्थानियबासीहरुको दैनिकी कार्यमा समेत समस्या आएको छ । 

चार–पाँच दिनदेखि बढेको अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त भएको छ । वायुमण्डलीय तापक्रममा वृद्धिसँगै तातो हावा आउनुले सर्वसाधारणलाई घरबाहिर निस्किनसमेत समस्या उत्पन्न भएको छ । अत्यधिक गर्मीले बजार, शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । 

भिम अस्पताल भैरहवामा गर्मीका कारण अस्पतालमा आउने बिरामीको चाप पनि बढ्दै गएको छ । सामान्य अवश्थामा दैनिक दुई सय सम्म बिरामी आउने यस अस्पतालमा अहिले गर्मीकै कारण् ७ सयको हाराहारीमा बिरामी आएको भैरहवा भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले जानकारी दिए । “चिसो मौषम हुदा सरदर ३ देखि ४ सय बिरामीको संख्या हुन्थ्यो, अहिले ६ देखि ७ सय दैनिक पुगेको छ ।” उनले भने “धेरैमा झाँडा पखाला र छाला सम्बन्धि समस्या देखिएको छ ।”

यस संगै पानी कम प्रयोग गर्दा हुने बिरामीहरुको संख्या पनि अस्पतालमा बढेको हुदाले बताए । पिसाबको संक्रमण, कडा ज्वरो मृगौलामा पत्थरी भएका बिरामीहरुमा तिव्र पेट दुखेको समस्या रहेका बिरामीहरु अस्पतालमा आईरहेका छन् । अहिलेको वातावरणको कारण दम रोगका बिरामीलाई पनि समस्यामा पारेको उनले बताए ।

गर्मी बढ्दा चिसो पेयपदार्थसँगै फलफूल जुसको व्यापार बढेको छ । मध्याह्न र अपराह्न सरकारी कार्यालयसहित बजारमा सर्वसाधारणको उपस्थिति पातलिएको छ ।

स्थानिय बासिन्दाहरुको भनाई अनुसार बिगतको बर्षहरु भन्दा यस बर्ष बढी गर्मी बढेको हो । गर्मीले मानिस मात्र हैनन् पशुपंक्षीहरु समेत प्रभावित भएका छन् । बजार सुनसान रहेको छ । व्यपार घटेको छ । मोबाईल व्यपारी हरि पाण्डेले गर्मीकै कारण व्यपार घटेको बताए । “अहिले किसानसंग पैसा आएर बिक्रि बढ्नु पर्ने हो,” पाण्डेले भने “तर गर्मी र तातो हावाकै कारण आगलागी कतिपय किसानहरुमा अन्न नष्ट भएको छ, अनि कसरी समान खरिद गर्नु ?”

उनले गर्मीका कारण दिउसो सडकमा मानिस नहुदा बजार नै सुनसान हुने गरेको बताए । यो सबको कारण वातावरणमा परेको प्रभाव नै रहेको हुदा यसको सुधारको लागि तिनै तहका सरकारले पहल गर्नुपर्ने उनले सुझाव समेत दिए । 

अहिले अत्याधिक गर्मीका कारण बच्चाहरुको मुख सुक्ने, पानीको कमि हुने लगायतको समस्या देखिएको कारण उनिहरुलाई प्रयाप्त झोलिलो पदार्थ खान दिन चिकित्सकले सुझाव दिएका छन । दिउसो ११ बजे देखि ३ बजे सम्म अति आवश्यक काम नपर्दा सम्म घरबाट बाहिर ननिस्किन भीम अस्पतालका कार्यालय प्रमुख डाक्टर मोहम्मद नुरुल हुदाले सुझाव दिए । “बाहिर निस्किनै परे पुरा बाहुलाको लुगा लगाएर निस्किने र मुख पनि राम्ररी छोप्नुपर्छ ।” उनले भने “कतिपयले सन्सक्रिम लगाउनु हुन्छ, यसले पनि एलर्जी हुने हुदा चिकित्सकको सल्लाहमा मात्र प्रयोग गर्नुपर्छ ।”

गर्मीबाट जोगिन पानी र झोलिलो पदार्थ बढी भन्दा बढी खान उनको सुझाव रहेको छ । 

तातो हावा, प्रचण्ड गर्मी र आगोलागीबाट वातावरणमा परेको असरको कारण जनजिवन प्रभावित बने पछि राहत पाउन सर्वसाधारण, किसान, व्यपारी लगायतले वर्षाको कामना गरिरहेका छन् ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार