भैरहवा । नेपालका पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले रुपन्देही क्रिकेट संघको आगामी निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् । लुम्बिनी खुकुरी क्लबद्वारा भैरहवामा आयोजित एक पत्रकार सम्मेलनमार्फत उनले आगामी जेठ २५ गते हुने संघको निर्वाचनमा आफू नेतृत्वको दौडमा रहने औपचारिक जानकारी दिएका हुन् ।
क्रिकेट मैदानमा लामो समय बिताएका गौचनले खेल क्षेत्रमा आफ्नो २५ वर्षभन्दा लामो अनुभव र योगदान रहेको उल्लेख गर्दै त्यसलाई रुपन्देहीको क्रिकेट विकास तथा यहाँ विद्यमान विभिन्न समस्याहरूको समाधानमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे । पत्रकार सम्मेलनमा बोल्दै उनले भौतिक पूर्वाधार बिना खेलकुदको विकास सम्भव नहुने तर्क अघि सारे । रुपन्देही क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन आफूसँग स्पष्ट र ठोस योजनाहरू रहेको दाबी गर्दै उनले निर्वाचनबाट चुनिएर आएपछि आफ्ना कामहरू छर्लङ्ग देखिने विश्वास दिलाए ।
कुनै समय नेपाली क्रिकेटमा नयाँ र प्रतिभावान खेलाडी उत्पादन गर्ने प्रमुख केन्द्र हबका रूपमा परिचित रुपन्देहीमा पछिल्लो समय भने सोचे अनुरूपका खेलाडीहरू निस्कन नसकेको प्रति उनले चिन्ता व्यक्त गरे । यो समस्यालाई सम्बोधन गर्न र जिल्लाको क्रिकेट साखलाई फर्काउनका लागि आफ्नो मुख्य ध्यान र प्राथमिकता ‘ग्रासरुट’ अर्थात् तल्लो तहदेखि नै क्रिकेटको विकास गर्ने कार्यमा रहने गौचनले स्पष्ट पारेका छन् ।