मर्चवार । रुपन्देही क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत भइरहेको मतगणनामा नेकपा एमालेले सुरुआती अग्रता कायम गरेको छ । हालसम्म कुल १२ हजार ३६५ मत गणना हुँदा एमालेका उम्मेदवार प्रमोद यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई पछि पार्दै अग्रता लिएका हुन् । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार यादवले ३ हजार ९११ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले ३ हजार १७२ मतका साथ पछ्याइरहेका छन् । त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनियाँ २ हजार ७९७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।
अन्य उम्मेदवारहरूतर्फ जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले १०७१ मत प्राप्त गरेका छन् । अहिले एमालेबाट उम्मेदवार बनेर सुरुआती अग्रता लिइरहेका प्रमोद यादव यसअघि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । उनले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसकै तर्फबाट उम्मेदवार बनेर यसै क्षेत्रबाट विजय हासिल गरेका थिए । तर, वि.सं. २०७९ सालको निर्वाचनमा भने उनी पराजित हुन पुगेका थिए । यसपटक दल बदलेर एमालेको चुनाव चिह्न लिएर मैदानमा उत्रिएका यादवले मतगणनाको सुरुआतदेखि नै आफ्नो पकड देखाउन थालेका छन् । हाल यस क्षेत्रको मतगणना जारी रहेको छ ।