भैरहवा । लुम्बिनीमा २५६९ औ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस-२०८२ बैशाख २८, २९ र ३० गतेका दिन उत्सवका रुपमा मनाउन गइरहेको लुम्बिनी विकास कोषले जनाएको छ । शनिबार लुम्बिनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै कोषले बुद्ध जयन्तीमा आयोजना हुने कार्यक्रम बारे जानकारी गराएको छ ।
बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई भगवान गौतम बुद्धको आजभन्दा २६४९ बर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा मायादेवीको कोखबाट वैशाख शुक्लपूर्णिमाका दिन जन्म भएको थियो । बुद्धको जन्म, वोधिज्ञान प्राप्ति र महापरिनिर्वाणको त्रियोग परेको दिन अर्थात वैशाख पूर्णिमाको दिनलाई लुम्बिनी विकास कोषले बिशेष महत्वका साथ मनाउँदै आएको छ र यसैदिन लुम्बिनी दिवसका रुपमा समेत मनाउने गरिएको छ ।
वैशाख २९ गते प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रमा '२५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस' विशेष समारोह हुने प्रचार प्रसार समितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए । विशेष समारोहमा लुम्बिनी विकास कोषका अध्यक्ष एंव संस्कृती पर्यटन तथा नागरिक उडडयन मन्त्री बद्रीप्रसाद पाण्डे सहित संघिय तथा प्रदेश मन्त्रीहरु, लुम्बिनी प्रदेशका प्रदेश प्रमुखज्यू, मुख्यमन्त्री, प्रतिनिधिसभा, प्रदेशसभाका सदस्यहरु सहित उच्चस्तरीय पदाधिकारीहरु, कुटनितिक नियोगका प्रतिनिधिहरुका साथै थुप्रै विदेशी पाहुनाहरुको समेत सहभागिता रहने उनले बताए ।
वैशाख २८गते साँझ मायादेवी मन्दिर परिसरमा अहोरात्र महापरित्राण पाठ हुने छ भने वैशाष २९ गते विहान ६ बजेदेखि भिक्षु-भिक्षुणी, लामा गूरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा प्रार्थना सभा, विहान साँढे ७ बजे ५ नम्बर गेटबाट शोभायात्रा हुने छ । यसका साथै बृहत्तर लुम्बिनी क्षेत्र अन्तर्गत अस्तीधातु रहेको रामग्राम, प्राचिन तिलौराकोट दरबार, कुदान, देवदहमा पनि बुद्धजयन्तीका अवसरमा कोष र स्थानीय तहहरुसगको समन्वयमा विविध कार्यक्रम गरेर मनाइने भट्टराईले बताए ।
बुद्ध जयन्तीकै अवसरमा बृहत्तर लुम्बिनी क्षेत्रमा सरसफाई कार्यक्रम, दीप प्रज्वलन, खेलकुद प्रतियोगिता, आँखा शिविर, रक्तदान कार्यक्रम, नाट्य प्रस्तुति, शान्ति ध्यान, प्रशुति उत्सव लगायतका कार्यक्रमहरु आयोजना गरिदै छ । भगवान बुद्धको ज्ञानको महत्व दर्शाउनका लागि देवदह नगरपालिका, रामग्राम नगरपालिका, कपिलवस्तु नगरपालिका सहित बृहत्तर लुम्बिनी क्षेत्रका जिल्लाबासीहरुलाई बुद्धजयन्तीका अवसरमा दीप प्रज्ववलन गर्न कोषले अपिल समेत गरेको छ । बुद्धजयन्तीको भोलीपल्ट बैशाख ३० गते बर्षेनी हुँदै आएको बोधिसत्व सिद्धार्थको शोभायात्रा हुनेछ । लुम्बिनीबाट नवजात शिशु राजकुमार सिद्धार्थलाई कपिलवस्तुको तिलौराकोट लगिने कार्यक्रम रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले हाल भारत र पाकिस्तान सहित कयौ देशमा युद्द भैरहेको अवस्थमा यो बुद्धजयन्तीले यी क्षेत्रहरुमा शान्तीको कामना सहित मनाइने बताए । उनले विश्व शान्तीको केन्द्र लुम्बिनीको अहिले अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार भैरहेको बताउदै बुद्ध जयन्तीले अझै सहयोग पुर्याउने भनाइ राखे । बुद्ध जयन्तीमा करिब १ करोड खर्च हुने उनले बताए ।
२५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस सम्पन्न गर्न संस्कृती पर्यटन तथा नागरिक उडडन मन्त्री तथा लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा ५६९ सदस्यीय मुल आयोजक समिति गठन भएको छ भने अन्य समितिहरुमा ३० सदस्यीय सल्लाहकार समिति, कोषका उपाध्यक्ष एब. संविधान सभा सदस्य डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) को संयोजकत्वमा मूल व्यवस्थापन समिति एवं पूजा, परित्राण तथा माणी मोलम व्यवस्था उपसमिति गठन गरिएको छ ।