भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले अवैध भन्सार छली र चोरी पैठारी नियन्त्रण अभियानलाई तीव्रता दिएको छ । यसै क्रममा प्रहरीले भदौ १ गते एकैदिन जिल्लाका विभिन्न स्थानबाट करिब ५२ लाख ५२ हजार रुपैयाँभन्दा बढीको अवैध सामान बरामद गरेको छ । कारबाहीको सिलसिलामा भन्सार छली गरिएको एक कार नियन्त्रणमा लिई तीन जनालाई पक्राउ समेत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार, सबैभन्दा ठूलो बरामदी वडा प्रहरी कार्यालय भैरहवाले गरेको छ । प्रहरी टोलीले सिद्धार्थनगर–८, अञ्चलपुरबाट बेवारिसे अवस्थामा रहेका १०० थान एप्पल एयरपड र १०० थान मोबाइल क्लिनर बरामद गरेको छ, जसको बजार मूल्य ४३ लाख २९ हजार ८४० रुपैयाँ अनुमान गरिएको छ ।
त्यस्तै, बुटवल उप-महानगरपालिका–१७, रानीगञ्जमा जाँचका क्रममा भारतबाट भन्सार छली ल्याइएको २६ लाख रुपैयाँ मूल्य बराबरको सेतो रङको टाटा नेक्सन कारसहित कपिलवस्तु महाराजगञ्जका ३० वर्षीय प्रिन्स भुजलाई पक्राउ गरिएको छ ।
प्रहरीले सिद्धार्थनगर नगरपालिका–१ बाट ई-रिक्सा र स्कुटरमा लुकाइछिपाइ ल्याइएको ४० केजी ब्रोइलर कुखुराको मासु, चिनी र बिस्कुट बरामद गरेको छ । उक्त अवैध सामान र सवारीसाधनसहित कुल २ लाख ३४ हजार रुपैयाँ बराबरको बरामदीमा संलग्न रहेको आरोपमा सिद्धार्थनगरका ४३ वर्षीय कन्हैया पासी र नवलपरासी रामग्रामकी २६ वर्षीया उसा यादवलाई पक्राउ गरिएको छ ।
अन्य कारबाहीहरूमा इलाका प्रहरी कार्यालय बेलहियाले बसपार्क क्षेत्रबाट १ लाख ३९ हजार ६०० रुपैयाँ बराबरको लत्ताकपडा र किराना सामान बरामद गरेको छ भने इलाका प्रहरी कार्यालय लुम्बिनी र मझगाँवाले मायादेवी र कोटहीमाई गाउँपालिका क्षेत्रबाट करिब ४ लाख ५० हजार बराबरको साडी, कपडा, जुत्ता, चप्पल र झोला बनाउने कच्चा पदार्थ नियन्त्रणमा लिएको छ ।
रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीप बहादुर क्षेत्रीले बरामद गरिएका सम्पूर्ण सामानहरू आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल, भैरहवा भन्सार कार्यालय र पशु क्वारेन्टाइन कार्यालय बेलहियामा बुझाइएको जानकारी दिनुभयो । प्रहरीको यो सक्रियता र अभियानको निरन्तरताले अवैध कारोबार नियन्त्रणमा सघाउ पुगेको भन्दै स्थानीयले प्रहरी प्रशासनको प्रशंसा गरेका छन् ।