लुम्बिनी । लुम्बिनी विकास कोषको सदस्य सचिव पदमा गोरखाका दीपक श्रेष्ठलाई नियुक्त गरिएको विषयमा लुम्बिनी क्षेत्रका स्थानीय बासिन्दाले तीव्र असन्तुष्टि जनाउँदै उनको तत्काल बर्खास्तीको माग गरेका छन् । स्थानीयस्तरमा सक्रिय 'लुम्बिनी बचाउ महाअभियान'ले सरकारको यो निर्णयप्रति आपत्ति जनाएको छ ।
महाअभियानका सहसंयोजक राम विकास चौधरीले सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै लुम्बिनीको भाषा, भूगोल र संस्कृति नबुझेका बाहिरी व्यक्तिलाई नियुक्त गरिनुले 'भ्रष्टाचारको गन्ध' आएको आरोप लगाएका छन् । महाअभियानले श्रेष्ठको नियुक्ति तत्काल खारेज गरी उक्त पदमा लुम्बिनीकै स्थानीय व्यक्तिलाई नियुक्त गर्न सरकारसँग माग गरेको छ। भ्रष्टाचार विरुद्धको आन्दोलनको जगमा बनेको सरकारबाट यस्तो कार्यको अपेक्षा नगरिएको भन्दै उनीहरूले माग सम्बोधन नभए कडा कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।