हेटौंडा । उच्च अदालत पाटन हेटौंडा इजलासले आर्थिक वर्ष २०८१÷०८२ मा दर्ता भएका कुल मुद्दामध्ये ७२ प्रतिशत मुद्दा फछर्यौट गर्न सफल भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चार प्रतिशतले फछर्यौट दरमा कमी देखिए पनि अदालतले समग्र कार्यसम्पादन सन्तोषजनक रहेको जनाएको छ ।
आर्थिक वर्ष २०८०र०८१ मा अदालतले ७६ प्रतिशत मुद्दा फछर्यौट गरेको थियो । तर चालु आवमा मुद्दा दर्ता संख्या बढेकाले प्रतिशतमा गिरावट आएको बताइएको छ। एक अदालत अधिकृतका अनुसार, ‘मुद्दाको सङ्ख्या उल्लेख्य रूपमा बढेका कारण घटेको प्रतिशतलाई पनि सन्तोषजनक मान्न सकिन्छ ।’
२०७८÷७९ मा दर्ता भएका १ हजार ७ सय २७ मुद्दामध्ये १ हजार २ सय ४७ मुद्दा फछर्यौट भएका छन् । अघिल्लो आवमा १ हजार ६ सय १९ मुद्दा दर्ता भएका थिए, जसमध्ये १ हजार २ सय ४५ मुद्दा टुंग्याइएको थियो । चितवन र मकवानपुर जिल्लालाई कार्यक्षेत्रका रूपमा लिएको हेटौंडा इजलासमा एक वर्ष र दुई वर्षभन्दा पुराना मुद्दा शून्य छन् , जसले अदालतको सक्रियता र समयमै न्याय दिन खोजिएको संकेत गर्छ ।
सात न्यायाधीशको दरबन्दी रहेको इजलासमा हाल पाँच जना मात्र कार्यरत छन् । विशेष उल्लेखनीय कुरा के छ भने, कार्यरत सबै न्यायाधीश महिला हुन्, जुन लैंगिक समावेशीताको दृष्टिले प्रशंसनीय मानिएको छ । उच्च अदालत पाटन हेटौंडा इजलासले निष्पक्ष, शीघ्र र प्रभावकारी न्याय प्रणालीको उदाहरण प्रस्तुत गर्दै आएको भन्दै स्थानीय कानुन व्यवसायी तथा नागरिकले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् ।