सन्दकपुरको ‘रेडपाण्डा जोन’मा विश्वका पर्यटक

Ujyalosandeshonline 2374+ समाचार ( )
१४ चैत्र २०८०, बुधवार

सुजन तिमल्सिना

इलाम । इलामको सन्दकपुर गाउँपालिका रहेका २६ सामुदायिक वन क्षेत्रलाई आफ्नो वासस्थान बनाएको विश्वकै दुर्लभ र आकर्षक बन्यजन्तु रेडपाण्डा पर्यटकको मुख्य आकर्षक बन्दै गएको छ ।

वन्यजन्तु र चराहरुको दृश्यावलोकनमा रमाउन विश्वका विभिन्न देशबाट पर्यटकहरु यहाँ आइरहेका छन् । सन्दकपूरको आहालभञ्ज्याङदेखि अधिकारीबाससम्म रेडपाण्डाको चरिचरन र बासस्थान क्षेत्र हो । उक्त क्षेत्रमा हिजोआज पर्यटकको बाक्लो उपस्थिति देख्न सकिन्छ । फोटोग्राफीमा रमाउनेहरुको संख्या उत्तिकै छ ।

समुद्र सतहबाट दुई हजार मिटरमाथिको क्षेत्र रेडपाण्डाको चरन क्षेत्र भएकाले सन्दकपुर गाउँपालिका भित्रका उच्च पहाडी भूभागमा रेडपाण्डा हेर्न आउने पर्यटकहरुको संख्या बढेको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले बताए ।

रेडपाण्डाको बसोबासले गर्दा सन्दकपुर गाउँपालिका–५ स्थित चोयाटार, हाँगेथाम, आहालभञ्ज्याङ, कैयाकट्टा, दोबाटे, छिन्टापू, टप्पु, अधिकारीबास वन क्षेत्रमा पर्यटकहरु प्रकृतिसँग रमाउँदै घुमफिर गरिरहेको देख्न सकिन्छ ।

विश्वमा लोपोन्मुख सूचीमा सूचीकृत रेडपाण्डाको अवलोकनकै लागि देश विदेशका पर्यटकहरु सन्दकपुर गाउँपालिका भित्रका जंगलमा घुम्ने गरेका छन् । नेपाल, भारत र युरोपसम्मका पर्यटकहरु रेडपाण्डाको सौन्दर्यमा लोभिएसँगै ‘रेडपाण्डा पर्यटन’ सन्दकपुर गाउँपालिकाको ब्राण्ड नै बनेको सन्दकपुर २ का अध्यक्ष सनम राईले बताए ।

आफ्नो सौन्दर्यले मोहित पार्ने रेडपाण्डा पाइने यहाँको वनमा पर्यटक, वन्यजन्तुविज्ञ, चराविज्ञ र प्रकृतिप्रेमी पुग्नेक्रम बढेको रेडपाण्डा नेटवर्कका धनबहादुर खाम्दाकले बताए ।  रेडपाण्डालाई स्थानीय भाषामा पूँडेकुदो र हाबे्र भनिन्छ ।

घाँस दाउरा गर्दा भेटिने रेडपाण्डाको महत्व बुझेसँगै स्थानीय व्यक्तिहरु स्वयम रेडपाण्डाको संरक्षणमा जुटेका छन् । रेडपाण्डा पर्यटनले लेकाली बस्तीको जीविकोपार्जनको आधारसँगै पर्यावरणीय सन्तुलनमा समेत टेवा पु¥याएको केचना कंचनजंघामा पर्यटन विकास समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीले बताए ।

हेर्दै आकर्षक देखिने र लजालु स्वभावको रेडपाण्डा सोझो, हलुका रातो, सेतो र कालो रंगको हुन्छ । रुखको काप र खबटामा बस्ने रेडपाण्डाको आहारा मालिङ्गोको पात र टुसा हो । पर्यटकलाई रेडपाण्डा देखाउन रेडपाण्डाको दिसा, हिँड्दा बन्ने डोब, मोहोडाका आधारमा वासस्थान पत्ता लगाइन्छ । रेडपाण्डा ९३ देखि एकसय १० सेन्टीमिटर हुन्छ । तीनदेखि ६ केजीसम्मको तौल हुने पाण्डा नेपाल भारत, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ । दुर्लभ र संकटापन्न सूचीमा सुचिकृत रेडपाण्डा नेपालका २३ जिल्लामा पाइने गरेपनि धेरै पर्यटक तान्नेमा इलामको सन्दकपुर गाउँपालिका हो ।

सन्दकपुर–५ जमुनाको चोयाटार, हाँगेथाम, हिले, ४ नम्बर वडाको माबुथाम र पद्मसंभव सामुदायिक वनमा रेडपाण्डा पर्यटन प्रवद्र्धन भइरहेको छ । विश्वमा १० हजारको संख्यामा रहेका रेडपाण्डा सन्दकपुर गाउँपालिका क्षेत्र आसपास २ सय ५० को संख्यामा रहेको अध्ययनमा उल्लेख छ ।

नेपाल, भारत र तेस्रो मुलुकका पर्यटक रेडपाण्डाको दृश्य हेर्न मात्रै पनि आउने गरेका छन् । रेडपाण्डासँगै लोपउन्मुख सूचीमै रहेको गिद्धको बासस्थान पनि सन्दकपुरका वन क्षेत्रमा सजिलै अध्ययन गर्न सकिन्छ । लोपउन्मुख वन्यन्तु र चराहरु सजिलै देखिने भएपछि लेकाली बस्तीमा होमस्टे व्यवसाय फस्टाएको सन्दकपुर ३ का अध्यक्ष लिलबहादुर बुर्जाले बताए ।

रेडपाण्डासँगै वनमा पाइने सयौँ प्रजातीको चराहरु, वनैभरी फुल्ने चाँप, लालिगुराँसले पर्यटक अझै लोभिने गरेका छन् । छिनछिनमा बदलिरहने मौसम र हिउँदको हिउँ र वर्षातको झरीमा पर्यटक रमाउने गरेका छन् ।

समूदायमा आधारित रेडपाण्डा संरक्षणका काम भएको चोयाटार पुग्न इलाम सदरमुकाम बिब्ल्याँटे, सुम्बेक जुमना, इङ्ला हुँदै ३० किलोमिटर यात्रा गर्नुपर्छ । सूर्योदय नगरपालिकाको  फिक्कल बजार माईजोगमाई गाउँपालिकाको नयाँबजारबाट आहाल भञ्ज्याङ्ग हुँदै पनि चोयाटार पुगिन्छ । सन्दकपुर गाउँपालिकाको दोबाटे पुग्न इलाम बजार सुलुबुङ्ग, माबुथाम, हुँदै २८ किलोमिटर यात्रा गर्नुपर्छ ।

रेडपाण्डाको अध्ययनका लागि सन्दकपुर गाउँपालिका भित्रका १० वटा रेडपाण्डामा रेडपाण्डा नेटवर्क र वन मन्त्रालयबाट रेडियोकलर जडान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार