अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिकाले उपभोक्ता समितिमार्फत सञ्चालन हुने योजनाहरूको सम्झौता तथा कार्यान्वयन प्रक्रिया वडा तहबाटै सुरु गरेको छ। चालु आर्थिक वर्षका स्वीकृत योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न गाउँपालिकाले योजना सम्बन्धी अभिमुखीकरण, सम्झौता र बैंक खाता सञ्चालनको काम वडा स्तरमै पुगेर गर्न थालेको हो।
सोही अभियान अन्तर्गत आज वडा नम्बर ७ मा अभिमुखीकरण तथा सम्झौता कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष टेकराज न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण खनाल लगायत विषयगत शाखाका प्रमुखहरूको टोलीले वडामा पुगेर उपभोक्ता समितिका पदाधिकारीहरूलाई योजना सञ्चालनबारे अनुशिक्षण दिएका थिए । गाउँपालिकाको यो कदमले उपभोक्ताहरूलाई योजना सम्झौता र खाता सञ्चालनका लागि पालिका केन्द्रसम्म धाउनुपर्ने झन्झट अन्त्य हुने र सेवा प्रवाह छिटोछरितो हुने विश्वास गरिएको छ।