चापाकोट । नकबजनी चोरी मुद्दाका फरार प्रतिवादीबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जा र इलाका प्रहरी कार्यालय चापाकोटको टोलीले ३८ वर्षपछि जरिवाना असुल गरेको छ। जिल्ला अदालत स्याङ्जाको लगत नम्बर १३१ को नगद रु एक लाख बाह्र हजार जरिवाना तोकिएका २०४५ सालको नकबजनी चोरी मुद्दाका फरार प्रतिवादी ताराप्रसाद बस्याललाई प्रहरीले सम्पर्कमा ल्याई जरिवाना असुल गराएको हो।
स्याङ्जाको साविक साखर गाविस–३ हाल चापाकोट नगरपालिका–६ घर भई चितवनको भरतपुर नगरपालिका–११ बस्ने रामबाबु बस्यालका छोरा ताराप्रसाद बस्याल बिरामी भई घरमै रहेको अवस्थामा प्रहरीको सम्पर्कमा आएका थिए। इलाका प्रहरी कार्यालय चापाकोटका प्रहरी सहायक निरीक्षक बद्रीदीप शर्मा आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले उनलाई जिल्ला अदालत स्याङ्जामा उपस्थित गराई तोकिएको जरिवाना असुल गराएको हो।