भैरहवा । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीले शनिवार लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालीदहमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट साढे तीन सयभन्दा बढी लाभान्वित भएका छन् ।
रोटरी क्लब अफ भैरहवासँगको समन्वयमा विशेषज्ञ चिकित्सकद्वारा आँखा, स्त्री रोग तथा परामर्श सेवालगायत रोगहरूको परीक्षण तथा निःशुल्क औषधि वितरण गरेको सशस्त्र प्रहरी बल २६ नम्बरका सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले जानकारी दिए ।
सशस्त्र प्रहरी सिमा सुरक्षामा मात्र नभएर सीमा क्षेत्रमा रहेका स्थानीयसँग समेत विभिन्न सरोकारका विषयमा समन्वय गरेर काम गर्दै आएको छ । यही क्रममा सशस्त्र प्रहरी बल २७ नम्बर हेडक्वाटर रुपन्देहीले जिल्लाको दक्षिणी क्षेत्र कालीदहमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको सशस्त्र प्रहरी उपरीक्षक थापाले जानकारी दिए ।
शिविरमा तीन सय ६० भन्दा बढी बिरामीले लाभ लिएको उनको भनाइ छ । रोटरी क्लबले स्वास्थ्य, शिक्षालगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको रोटरी क्लब अफ भैरहवाका अध्यक्ष रामप्रसाद पन्थीले बताए ।
कार्यक्रममा लुम्बिनी नेत्रालयका सञ्चालक हीरा शाहले शिविरबाट स्थानीयले पूर्ण लाभ लिएको बताए । शिविरमा तिनाउ इन्टरनेशनल हस्पिटल बुटवल र लुम्बिनी नेत्रालय भैरहवाले प्राविधिक दक्ष जनशक्ति उपलब्ध गराएका थिए । शिविरमा नेपाल–भारत सीमा क्षेत्रका सर्वसाधारण सहभागी थिए ।