रुपन्देही । वाक कलाले सबैलाई मन्त्रमुग्ध पार्दै आएकी पाल्पाली बाल प्रतिभा ओजस्वी आचार्यले अर्को महत्वपूर्ण सफलता हात पारेकी छिन् । सशस्त्र प्रहरी बल नेपालद्वारा आयोजित लुम्बिनी प्रदेशस्तरीय वक्तृत्वकला प्रतियोगितामा उनी प्रथम भएकी हुन् । यो विजयसँगै उनलाई लागू औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण अभियानको सद्भावना दूत समेत घोषणा गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल, नं. ५ बिन्ध्याबासिनी बाहिनी मुख्यालयको आठौँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको श्रव्यदृश्य (भिडियो रेकर्ड) प्रतियोगितामा ओजस्वीले ७२ विद्यालयका ११६ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेकी हुन् ।
शनिबार आयोजित एक विशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले ओजस्वीलाई पुरस्कार हस्तान्तरण गर्नुका साथै लागू औषध दुर्व्यसनी रोकथाम तथा नियन्त्रण अभियानको सद्भावना दूत घोषणा गरेका थिए ।
तानापा-९ स्थित दमकडा नमुना माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत ओजस्वी आफ्ना परिवार, विद्यालयका प्रधानाध्यापक मोहन सापकोटा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश कुमार अर्यालका साथ सम्मान समारोहमा उपस्थित भएकी थिइन् ।
यसअघि एनआरएनए सम्मेलनमा सहभागी भएर सद्भावना दूत बनेकी ओजस्वी सामाजिक सञ्जाल र सञ्चारमाध्यममा निरन्तर चर्चामा रहँदै आएकी छिन् । उनको यो पछिल्लो सफलताले उनको प्रतिभालाई थप उचाइ प्रदान गरेको छ ।