भैरहवा । प्रतिनिधि सभा सदस्य ज्ञानु पौड्यालले रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित मानवसेवा आश्रममा आश्रित बालबालिका तथा वृद्धवृद्धासँग बडादशैंको टीका लगाएर खुसी साटासाट गर्नुभएको छ। आश्रममा पुगेर उहाँले बालबालिकासँग टीका लगाउनुका साथै वृद्धवृद्धाबाट आशीर्वाद लिनुभएको र उनीहरूसँगै बसेर भोजनसमेत ग्रहण गर्नुभएको हो।
सो अवसरमा सांसद पौड्यालले आश्रममा बिताएको समयले मानवीय सेवाको वास्तविक अर्थ बुझाएको बताउँदै असहाय तथा सहयोगापेक्षी व्यक्तिहरूको संरक्षणमा आश्रमले पुर्याएको योगदानको उच्च प्रशंसा गर्नुभयो। 'मानवता नै सबैभन्दा ठूलो धर्म हो' भन्ने भावनालाई आत्मसात् गर्दै निःस्वार्थ सेवामा समर्पित आश्रम परिवारप्रति कृतज्ञता व्यक्त गर्दै उहाँले मानवीय सेवाको यात्रामा निरन्तर सफलताको कामना गर्नुभएको छ।