बाँके । प्रहरीले नेपालगन्जमा सञ्चालित दुई स्पाका तीन सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा एक भारतीय नागरिकसहित तीन नेपाली छन् । नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगरस्थित प्लेजर स्पाकी सञ्चालक भारतीय नागरिक गुडिया खान, सोही स्थानमा रहेको आयुर्वेदिक रिल्याक्स स्पाकी सञ्चालक दुर्गा थारु र नेपालगन्ज उपमहानगरपालिका–२ का रिल्याक्स स्पाका सञ्चालक तर्कराज देवकोटा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार पक्राउ परेका तीनै जनालाई आज जिल्ला अदालत बाँकेबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार ती स्पामा काममा लगाइएका सात बालिकाको उद्धार गरिएको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ बमोजिम पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।विशेष सूचनाका आधारमा स्पामा जाँच गर्दा बालिका फेला परेका थिए । प्रहरीले उनीहरूलाई शनिबार पक्राउ गरेको थियो । पछिल्लो समय नेपालगन्जका विभिन्न स्थानमा स्पा सेन्टर खुल्नेक्रम बढेको छ ।