भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोमा गैरकानुनी रूपमा नेपाली नागरिक प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले पाँच जना नेपालीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले विशेष सूचनाका आधारमा क्यासिनोमा छापा मार्दा जुवा खेलिरहेको अवस्थामा म्याग्दीका नारायण घर्ती, कास्कीका रोशन केसी र सुदिप आचार्य तथा बुटवलका रामु श्रेष्ठ र चन्द्रप्रसाद श्रेष्ठलाई पक्राउ गरेको हो।
सो क्रममा नेपाली नागरिकलाई क्यासिनोभित्र प्रवेश गराई जुवा खेलाउन संलग्न रहेको भन्दै क्यासिनोका पिट म्यानेजर भारतीय नागरिक २५ वर्षीय पारस भाटियालाई पनि नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।