मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै | हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री |
मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै | हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद | संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री |


तानसेनको मध्यकालीन पहिचान खोजिँदै

Ujyalosandeshonline 12351+ समाचार ( )
४ अशोज २०८३, आइतबार

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना सम्पदा, बस्ती, संस्कृति र जीवनशैलीको खोज तथा अनुसन्धान अघि बढाइने भएको छ । बाइसे–चौबीसे राज्य, मगरात र सेन राज्यसँग जोडिएको इतिहास बोकेको तानसेनलाई मध्यकालीन सहरका रूपमा विश्व सम्पदा सूचीमा समावेश गराउने उद्देश्यले सम्पदाको खोज, अध्ययन, अभिलेखीकरण र संरक्षणको तयारी थालिएको हो ।

तानसेनलाई सन् २००८ मै युनेस्कोको सम्भावित विश्व सम्पदा सूचीमा समावेश गरिएको थियो । तर त्यसयता पनि सम्भावित सूचीमै रहेको तानसेनलाई स्थायी विश्व सम्पदा सूचीमा लैजान आवश्यक प्रक्रिया अघि बढाउन सरोकारवालाबीच छलफल सुरु गरिएको छ । तानसेनमा रहेका ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा स्थानीय जीवनशैलीसँग जोडिएका सम्पदाको खोज, पहिचान, संरक्षण र व्यवस्थापन गर्दै सहरको मौलिक ऐतिहासिक पहिचान स्थापित गर्ने उद्देश्यले पूरक एसिया काठमाडौँ र पाल्पा विकास केन्द्रले सरोकारवालासँग छलफल तथा परामर्श गरेको हो ।

छलफलमा विषयविज्ञ तथा अनुसन्धानकर्ता भुवन केसीले तानसेनलाई मध्यकालीन सहरका रूपमा स्थापित गर्न ऐतिहासिक संरचना, बस्तीको स्वरूप, पुराना बाटो, धार्मिक तथा सांस्कृतिकस्थल, पानीका स्रोत, परम्परागत निर्माण शैली, उत्पादन प्रणाली तथा तत्कालीन सामाजिक–सांस्कृतिक जीवनसँग जोडिएका प्रमाणको व्यवस्थित खोज र अभिलेखीकरण आवश्यक रहेको बताउनुभयो । 

उहाँका अनुसार मध्यकालीन संरचना तथा वस्तुको खोज र पहिचानसँगै भेटिएका सम्पदाको संरक्षण, पुनःस्थापना र तिनलाई जीवन्त राख्ने योजना पनि आवश्यक छ । स्थानीय समुदायको जीवनसँग जोडेर सम्पदालाई कसरी संरक्षण तथा उपयोग गर्ने भन्ने विषयलाई पनि प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । केसीले तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न इतिहासविद्, पुरातत्वविद्, संस्कृतिविद्, वास्तुविद्लगायत विषयगतविज्ञसँग नियमित परामर्श गर्नुपर्ने बताउनुभयो ।

इतिहास तथा संस्कृतिविद् निर्मल श्रेष्ठले तानसेनमा अझै पनि मध्यकालीन जीवनशैलीका धेरै अवशेष रहेको भन्दै उहाँले तिनको खोज, अनुसन्धान र अभिलेखीकरण आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले रिडीको रुरु क्षेत्रधाम, तानसेनको रणउजीरेश्वरी भगवती मन्दिर, अमरनारायण मन्दिर तथा प्रभासको मणिमुकुन्देश्वर महादेव मन्दिरलगायतका स्थल र तिनभित्र रहेका संरचना तथा मूर्तिहरूको थप अध्ययन–अनुसन्धान आवश्यक रहेको बताउनुभयो ।

मध्यकालीन सहरको पहिचान तत्काल स्थापित हुने विषय नभएको भन्दै श्रेष्ठले नगरपालिकाले यसलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । हृषिकेशव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले तानसेनको मध्यकालीन इतिहास अध्ययन गर्दा सेनकालमा निर्माण भएको अर्गलीको सिँचाइ कुलो, अर्गली फाँट तथा आसपासका पुराना बस्तीलाई समेत अध्ययनको दायरामा समेट्नुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेश सरकारका पूर्वसचिव तथा इन्जिनियर भीमार्जुन पाण्डेले ऐतिहासिक सम्पदा संरक्षणलाई स्थानीय समुदायको आर्थिक तथा सामाजिक जीवनसँग जोड्न सकेमात्र तानसेनको मध्यकालीन पहिचान दीर्घकालसम्म कायम राख्न सकिने बताउनुभयो । पर्यटनविद् मनमोहन श्रेष्ठ, पत्रकार तथा तानसेन नगर प्रज्ञा प्रतिष्ठानका पदम न्यौपाने, अनुसन्धानकर्ता पुष्कर रेग्मीलगायतले तानसेनलाई मध्यकालीन सहरका रूपमा स्थापित गर्न ऐतिहासिक सम्पदाको विस्तृत खोज तथा अनुसन्धानलाई नगरपालिकाले प्राथमिकता दिनुपर्ने बताउनुभयो । 

तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले तानसेनलाई विश्व सम्पदा सूचीमा समावेश गराउने दिशामा काम अघि बढाइएको बताउनुभयो । तानसेनको ऐतिहासिक तथा सांस्कृतिक पहिचान संरक्षण गर्दै पर्यटन विकासमार्फत स्थानीय अर्थतन्त्रलाई समेत बलियो बनाउने नगरपालिकाको लक्ष्य रहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार