नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न

Ujyalosandeshonline 11761+ समाचार ( )
३२ असार २०८३, बिहीबार

ललितपुर । नेपाल र दक्षिण कोरियाबीचको श्रम सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यका साथ ‘नेपाल-कोरिया श्रम सहयोग गोष्ठी’ आज सम्पन्न भएको छ । नेपालका लागि कोरियाली दूतावास र रोजगार अनुमति प्रणाली केन्द्र (इपिएस सेन्टर)को सहकार्यमा युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रममा वैदेशिक रोजगारीबाट प्राप्त सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड दिइएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले इपिएस कार्यक्रमले वित्तीय विप्रेषण मात्र नभई सामाजिक विप्रेषणसमेत सिर्जना गरिरहेको बताउनुभयो । कोरियाबाट फर्केका नेपालीले सीप, अनुशासन, आत्मविश्वास र व्यावसायिक अनुभव लिएर आउनुहुन्छ । यही अनुभवले उहाँहरूलाई रोजगारी खोज्नेबाट रोजगारदातामा रूपान्तरण गर्न मद्दत पुर्‍याएको छ”, उहाँले भन्नुभयो ।

विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरिरहेका सात जना सफल उद्यमीलाई मन्त्रालयले हालै सम्मान गरेका जनाउँदै तीमध्ये दुई जना दक्षिण कोरियाबाट फर्किएका हुनु यसको सफल उदाहरण रहेको मन्त्री यादवले उल्लेख गर्नुभयो । दक्षिण कोरियाको विकास यात्राको उदाहरण दिँदै उहाँले कुनै समय कोरियाका नागरिक कामको खोजीमा अन्यत्र जाने गरेका स्मरण गर्नुभयो ।

“कोरियाको यात्राले नेपालका लागि एउटा महत्त्वपूर्ण सन्देश दिन्छ, कुनै पनि देश श्रमिक पठाउने मुलुकबाट सुरु भएर आफ्नै देशमा आकर्षक अवसर सिर्जना गर्ने राष्ट्रमा रूपान्तरण हुन सक्छ”, मन्त्री यादवले भन्नुभयो । यसका लागि आप्रवासनलाई सीप, बचत, लगानी र उद्यमशीलतामा बदल्ने स्पष्ट राष्ट्रिय दृष्टिकोण र नीति आवश्यक रहेको उहाँको तर्क छ ।

इपिएस परीक्षा ढाँचा (इपिएस मोडल) लाई अन्तरराष्ट्रिय श्रम आप्रवासनका लागि एउटा उदाहरणीय ढाँचा रहेको मान्दै मन्त्री यादवले यसमा अवलम्बन गरिने पारदर्शी छनोट प्रक्रिया र डिजिटल प्रणालीको प्रशंसा गर्नुभयो । सरकारले वैदेशिक रोजगारीलाई थप सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन महत्त्वपूर्ण सुधार गरिरहेको भन्दै उहाँले यसमा इपिएस परीक्षा ढाँचामा अवलम्बन गरिने सकारात्मक मार्गबाट धेरै कुरा सिक्न सकिने उहाँले बताउनुभयो ।

मन्त्री यादवले दुवै सरकारलाई इपिएस आकाङ्क्षीहरूलाई स्पष्ट र भरपर्दो सूचना उपलब्ध गराउन र कार्यस्थलको सुरक्षा तथा कामदारको मानसिक स्वास्थ्यमा ध्यान दिन अनुरोध गर्नुभयो । साथै, कोरियाबाट फर्केका र फर्कने तयारीमा रहेका कामदारका लागि सञ्चालित पुनःएकीकरण कार्यक्रममा थप सहकार्य गर्न दक्षिण कोरियाली सरकारलाई उहाँले आग्रह गरिएको छ । कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत, नेपालका लागि मलेसियाका राजदूत, विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिहरू, सरकारी अधिकारीहरू र इपिएसमार्फत कोरिया पुगर स्वदेश फर्केका नेपालीहरूको उपस्थिति थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार