रुपन्देही-१ मा राप्रपाका प्रज्जवल बोहराको चुनावी अभियान सुरु: भ्रष्टाचार अन्त्य र सुशासन मुख्य एजेन्डा

Ujyalosandeshonline 11896+ समाचार ( )
४ फाल्गुन २०८२, सोमबार

भैरहवा । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि रुपन्देही क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार प्रज्जवल बोहराले आजदेखि आफ्नो चुनावी घरदैलो अभियानको औपचारिक शुभारम्भ गरेका छन्। यस क्षेत्रको परासीझुवाबाट सुरु भएको अभियानमा बोहराले दिवंगत नेता दीपक बोहराका सुपुत्रका रूपमा आफ्नो राजनीतिक यात्रा अघि बढाएका हुन्।

अभियानका क्रममा बोहराले राप्रपाको मूल दर्शन "भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो" भन्ने नारालाई जोड दिँदै सरकारी सेवामा डिजिटलाइजेसन र बजेट खर्चमा पूर्ण पारदर्शिताको दृढ प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो सफल पेशागत जीवन त्यागेर राजनीतिमा होमिएको बताउँदै अबको पुस्तालाई 'चिल्ला नारा' भन्दा 'परिणाम' चाहिएकोमा जोड दिए। बोहराले युवा पलायन रोक्न ठोस कार्य गर्ने आफ्नो पहिलो प्राथमिकता हुने बताए। "दशकौंदेखिको पुरानो शैलीबाट युवा पुस्ता आजित भइसकेको छ। अब हामीलाई ठोस काम र सुशासन चाहिन्छ," उनले भने।

बोहराले सुशासन र पारदर्शितालाई आफ्नो प्रमुख एजेन्डाका रूपमा अघि सारेका छन्। उनले भ्रष्टाचार अन्त्य गर्दै सरकारी सेवालाई डिजिटल बनाउने र बजेट खर्चमा पूर्ण पारदर्शिता कायम गर्ने प्रतिबद्धता जनाए। शिक्षा क्षेत्रमा लुम्बिनी बौद्ध विश्वविद्यालयको गुरुयोजना पूरा गर्ने, विद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने र रामनरेश यादव विद्यालयलाई क्याम्पसको रूपमा स्तरोन्नति गरी सस्तो तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने योजना बोहराले प्रस्तुत गरे।

स्वास्थ्य सेवामा सुधार ल्याउन धकधई स्वास्थ्य केन्द्रलाई विशेषज्ञ अस्पतालमा परिणत गर्ने तथा हरेक पालिकामा एम्बुलेन्स र दमकलको व्यवस्था गर्ने उनको योजना छ। पर्यटन र विकासतर्फ रोहिणी नदीको संरक्षण, मैनीहवामा पक्की पुल निर्माण, र बुद्धको मावली क्षेत्र देवदहलाई लुम्बिनीसँग जोडेर अन्तर्राष्ट्रिय पर्यटकीय स्थलको रूपमा विकास गर्ने बोहराको एजेन्डामा उल्लेख छ।

किसानका समस्या समाधानका लागि समयमै मल, बीउ र सिँचाइको प्रबन्ध गर्ने तथा सहकारी र लघुवित्त पीडितका समस्या समाधान गर्ने बोहराले बताए। उनले मुलुकको विकासका लागि नयाँ पुस्ता, दल र राजसंस्थाबीच सहमति हुनुपर्नेमा जोड दिए। बोहराले आफ्नो 'हलो' चिह्नमा मतदान गर्न सबै मतदातालाई आग्रह गरे। घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार ताहिर अली लगायत राप्रपाका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो। यस अभियानले रुपन्देही–१ मा चुनावी सरगर्मी बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार