जिल्ला सहकारी संघ रूपन्देहीका सल्लहकार सदस्य अशोक कुमार त्रिपाठीसँग मर्चवारमा सहकारीको आवश्यकता, महत्व तथा अवस्थाबारे हृदयराम गुप्ताले गरेका कुराकानीको अंश ।
तपाई सहकारी क्षेत्रमा लागेको कति वर्ष भयो ?
मर्चवारमा एक साथ १४ वटा स्वावलम्बन दर्ता भएको २०५७ साल देखि नै म सहकारीमा आवद्ध भएर २०५७ साल देखि अहिले सम्म श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा कार्यरत भई सहकारी क्षेत्रबाट सबैलाई सेवा दिइरहेको छु र एउटा स्वावलम्बनको लागि हैन समग्र सहकारीको प्रचार प्रसारमा जुटेको छु । कृष्ण स्वावलम्बनले २०७२ सालमा १ सय १५ सदस्यहरूबाट ७२ हजारको पुँजीबाट सुरु भई हाल सम्म करिब ४ करोडको पुँजी तयार बनाएर ६ सय ९७ शेयर सदस्यहरू रहेको छ ।
मर्चवारमा सहकारीको स्थापना कसरी भयो ?
वि.सं. २०५७ सालमा मर्चवारको १४ वटा गाविस मा एक गाविस एक सहकारीको अवधारणा सहित एकै साथ सहकारी संस्थाहरू सहकारी डिभिजन कार्यालय पाल्पामा दर्ता भएको थियो । म पनि दर्ता गराउन पाल्पा गएको थिए । स्थापना कालदेखि नै साबिकको फरेना गाविस मा दर्ता भएको श्री कृष्ण स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष पदमा रहेको थिए । मर्चवारमा सुरुमा सबै सहकारीमा करिब १ हजार ५ सय सदस्यहरू थिए तर अहिले करिब १७ हजार भन्दा बढी सहकारी शेयर सदस्यहरू रहेका छन् । सुरुमा कुल सहकारीको करिब ८ लाख पूँजी थियो । अहिले करिब ८७ करोड पुगको छ । यसमा विरुद्ध रूपले किसानहरूको लगानी छ । गाउँ भित्रका रहेको रहेका करिब १७ हजार शेयर सदस्यहरूको बचत रहेको छ । साविकको सेमरा गा.वि.स.मा बैष्णोमाता स्वावलम्बन, रायपुर गा.वि.स.मा केदारनाथ स्वावलम्बन, बगौलीमा जनसेवा स्वावलम्बन, सिलौटियामा जनकल्याण स्वावलम्बन, बोगडीमा मर्चवारीदेवी स्वावलम्बन, बैरघाटमा गणेश स्वावलम्बन, मझगावाँमा नवदुर्गा स्वावलम्बन, सिपवामा लक्ष्मी स्वावलम्बन, बेतकुइयाँमा महालक्ष्मी स्वावलम्बन, रोइनिहवामा भवानी स्वावलम्बन, थुम्हवामा बिन्दवासिनी स्वावलम्बन, करौतामा जनउत्थान स्वावलम्बन, फरेनामा कृष्ण स्वावलम्बनको स्थापना भएको थियो ।
सहकारी संस्थाबाट आम नागरिकले सबभन्दा बढी केका लागि ऋण लिएका छन?
सहकारी संस्थाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर ऋण उपलब्ध गराउने गर्दछ तर अहिले बैदेशि रोजागरको लागि बढी ऋण लिन आउने गरेका छन् । देशमा बढिरहेको रोजगारीले गर्दा वैदेशिक ऋणको माग बढिरहेको छ । विदेश जानकालको लागि सामान्य रूपले २–३ लाखको आवश्यकता पर्दछ जसले गर्दा सहकारीबाट नै सहज देखिएकोले सबैले सहकारीबाट नै ऋण लिने गरेका छन् । कमर्सियल बैंकबाट ऋण लिँदा ऋण रकम भन्दा महिनौँ दौडधुप र ऋण रकमको ४–५ गुना बराबरको धितो राख्नू पर्ने बाध्यता विभिन्न किसिमले सिफारिस लगायत निकै अप्ठ्यारो हुने गर्दछ । तर सहकारीका शेयर सदस्यहरूले सामान्य प्रकृया पु¥याएर २–३ दिन भित्रै सहज तरिकाले ऋण पाउन सकिन्छ । यस संगै शैक्षिक ऋण, कृषि ऋण, स्वास्थ्य ऋण, पशु धान लगायत विभिन्न किसिमले ऋण उपलब्ध गराइएको छ । स्वास्थ्यको लागि शेयर सदस्यहरूलाई आकस्मिक ऋण २५ हजार १ महिनाको लागि बिना ब्याजको उपलब्ध गराइएको छ । एक महिना पछि नियमानुसार ब्याज लाग्ने गर्दछ । ऋण लिने प्रयोजनबारे स्थलगत निरीक्षण गरी ऋण उपलब्ध गराउने गर्दाछौँ जसले गर्दा ऋणको दुरुपयोग हुने अवस्था हुदैन ।
मर्चवारका स्वावलम्बन कसरी र कति सम्म ऋण उपलब्ध गराइरहेका छन ?
नियमित बचतकर्तालाई बचतको आधारमा पनि मर्चवार सम्पूर्ण स्वावलम्बनले ऋण उपलब्ध गराइरहेका छन् । सहकारीको क्षमता अनुसार ऋण क्षमता रहेको छ । सक्दो थोरै रकम दिने प्रयास हुन्छ जसले गर्दा धेरैजनालाई ऋण उपलब्ध गराउन सहज हुन्छ । हरेक संस्थाको शेयर सदस्य तथा पुँजी फरक फरक भएकोले सम्बन्धित स्वावलम्बनले वार्षिक साधारण सभाबाट अधिकतम ५ लाख देखि ४० –५० लाख सम्म ऋण दिने निर्णय गरी सोही अनुसार ऋण उपलब्ध गराउने गर्दछन् । ऋण लिँदा जमानी राख्ने धितोको ६० प्रति सम्म ऋण उपलब्ध गराइएको छ । ऐच्छिक बचत बाहेक अधिकांस रकम सबै ऋण लगानी भएको छ । मर्चवारको सम्पूर्ण स्वावलम्बनमा करिब ६० करोड लगानी भएको छ । अहिले हाम्रो समाज आर्थिक समस्याले गुजारीरहेको छ ।
सहकारीमा बचतकर्ताहरूको अवस्था के छ ?
बचतकर्ताहरूमा कुनै कमी रहेको छैन । जुन प्रतिशतले पहिला थिए सोही प्रतिशतमा छन् । सहकारीमा अधिकांश कृषक र साना व्यवसायीले जम्मा गर्ने हुन । बचतले ठुलो गर्ज टल्ने गर्दछ । नियमित बचत सोही प्रतिशतमा छ र दैनिक बचत बढ्दो क्रममा रहेको छ । मुद्दती बचत पनि भइरहेको छ । बचतले नै सहकारी चल्ने हो । बचतले नै साना देखि ठूला समस्या समाधान हुन्छ । सहकारीका शेयर सदस्यहरूलाई ६० वर्ष मै वृद्धा पेन्सन पनि पाउने गर्दछन् । वृद्धा पेन्सन बचत योजनामा प्रत्येक एक लाखमा १ सय ५० रुपैया प्रति महिना औषधी उपचार खर्च दिइएको छ । बचत सङ्कलनको लागि बचतकर्ताले बैंक धाउन परेको छैन । सहकारीका कर्मचारीले दैनिक बचत कर्ताको घरमै पुगेर बचत संकलन गरेका छन् । पारदर्शिता र सहज रूपले सेवा पाउने भएकोले सहकारी तर्फ सबैको आकर्षण बढिरहेको छ ।
सहकारी धेरै ठाउँमा विवादित पनि भएको देखिन्छ । किन ?
विवादित हुनु भनेको फोहोर राजनैतिक हस्ताक्षेप हो । हामीले सहकारी सेवाहरू राजनीतिकरणबाट टाढा राखेका छौँ । हरेक सहकारी शेयर सदस्यको बराबर अधिकार र दायित्व हुन्छ । कुनै पनि सेवामा राजनैतिक दल, समुदाय, जात हेरे दिदैनौ । सहकारी सबैलाई सेवा दिने संस्था हो नाफा गर्ने होइन त्यसैले यसबाट कसैले आर्थिक अपेक्षा पनि राख्दैन । पहिला हरके स्वावलम्बनमा हरेक पद निर्विरोध हुन्थ्यो तर अहिले कुनै कुनै संस्थामा मतदान हुन थालेको छ । त्यसको कारणले एउटै सहकारीमा दुई पक्ष हुन्छ र विवाद सिर्जना हुने गर्दछ । सबै स्वावलम्बनको एउटा रणनिति छ कसैले त्यो रणनिति भन्दा बहिर जान सक्दैन त्यसैले सहकारी सधैँको लागि र सबैको लागि भएको छ । आय आर्जन समितिमा आफ्नो मान्छे ल्याउन कोही कोहीले राजनीति गर्दछन् तर त्यो गलत हो । आफ्नो मान्छे होइन संस्थालाई सहयोग गर्ने सहकारीको मर्म र मान्यता बुझने खालको हुनु पर्दछ । तर हरेक सहकारीमा फोहोर राजनीति सफल हुदैनन किन भने सहकारी स्थापनामा राजनीतिक तथा ठूला ब्यक्तिहरुले होइन साना आयश्रोत भएका र किसानहरुले स्थापना गरेका हुन त्यसैले अहिले सम्म जोगिएको छ र राम्रो प्रगति गरेको छ ।
सहकारीमा रहेका कर्मचारीहरूले सहकारीलाई मनपरी चलाएको पनि आरोप आउँछ नि ?
आरोप मात्र आउँछ तर खासै प्रमाणित हुदैन । मर्चवारको १४ वटा स्वावलम्बनमा करिब ६० जना कर्मचारीहरू रहेका छन तर कसैले पनि सहकारीको नियम र रणनिति विपरित काम गर्न पाउदैन अनि कसरी मनपरी गर्न सक्छन् । बचत गर्ने मापदण्ड छ, ऋण लगानी गर्ने मापदण्ड छ, ब्याज असुल्ने मापदण्ड छ, ब्याज दिने मापदण्ड छ हरेक कुराको मापदण्ड हुँदा त्य विपरित काम गर्न पाउदैनन् र मनपरी पनि गर्न पाउदैनन् । हरेक स्वावलम्बनको सञ्चालक समिति गठन गरिएको छ सहकारीको हरेक लेखाजोखामा निगरानी र प्रमाणित गर्दछ, कसैलाई ऋण दिँदा ऋण उपसमितिले आफूले अध्ययन गरी सिफारिस गर्दछ, धितो मूल्यांकन समितिले धितो मूल्यांकन गर्दछ न बढी ऋण दिन पाउँछन त बढी ब्याज लिन पाउँछ । हरेक गतिविधि मापदण्ड अनुसार भएको हुँदा कुनै किसिमको हिनामिना छैन ।
अन्त्यमा के भन्नु हुन्छ ?
सहकारीको समस्या र आवश्यकता लगायतकाबारेमा कुरा गर्नु भएकोमा हजुरलाई सर्वप्रथम त हजुरलाई धन्यवाद दिन चाहन्छु । सहकारीबाट जुटन सबैलाई आग्रह गर्न चाहन्छु । बचत नै समृद्धिको मुल करण भएकोले सबैले बचत गर्ने बानी पनि बसाल्न आग्रह गर्दछु । सहकारी नै सबैका यस्तो संस्था हो जसको लगानी कर्ता नै सञ्चालन गर्न पाउने ब्यवस्था रहेको छ । त्यसलाई कम्तिमा एक घरका एक जना अनिवार्य सहकारीमा आबद्ध हुन जरुरी छ । सहकारीमा बहिरबाट न बजेट आउने हो न बाहिर लगानी हुने हो । शेयर सदस्यहरूबाटै लगानी हुन्छ र शेयर सदस्यहरू मै लगानी हुन्छ त्यसैले सहकारीमा संकट आँउदैन सबैले सहकारीमा आबद्ध हुन जरुरी छ ।