सन्धिखर्क । अर्घाखाँचीको प्रसिद्ध सुपादेउराली मन्दिरको भावी रणनीतिक विकासका लागि सन्धिखर्कमा एक महत्त्वपूर्ण अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय प्रमुख जीवनारायण कोइरालाको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला प्रशासन कार्यालयमा आयोजित कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले मन्दिरको वर्तमान अवस्था र सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष पीताम्बर भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष हरि भुसाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष थम्मन केसी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले मन्दिर विकासका लागि आ-आफ्नो दलको धारणा राखेका थिए। हिन्दू धर्म रक्षा परिषद्का केन्द्रीय अध्यक्ष नारायण प्रसाद खनालको विशेष उपस्थिति रहेको कार्यक्रममा स्थानीय मन्दिर व्यवस्थापन समितिका पदाधिकारीहरू, पूर्व जनप्रतिनिधिहरू लगायतको उल्लेख्य सहभागिता थियो।
सुपादेउराली मन्दिर र नरपानी पर्यटकीय क्षेत्रको सञ्चालन तथा व्यवस्थापनका लागि भइरहेको अध्ययनको सन्दर्भमा यो अन्तरक्रिया आयोजना गरिएको हो। कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल, सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, शीतगंगा नगरपालिकाका प्रमुख छविलाल पौडेल, सन्धिखर्क नगरपालिकाका उप-प्रमुख मिश्रा आचार्य र शीतगंगा नगरपालिकाका उप-प्रमुख गीता भाट लगायतका प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो । यस कार्यक्रमले सुपादेउराली मन्दिरलाई एक महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि आवश्यक रणनीति र योजना निर्माणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।