फिक्कल (इलाम)। लिम्बू समुदायको मौलिक सांस्कृतिक सम्पदा च्याब्रुङ नाच (केःलाङ) को संरक्षण, प्रवद्र्धन तथा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा आज च्याब्रुङ महोत्सव (केःलाङ प्रदर्शन) हुँदैछ । माङसेबुङ गाउँपालिकाको आर्थिक सहयोगमा किरात याक्थुङ चुम्लुङ माङसेबुङको आयोजनामा माङसेबुङ–१ स्थित गजुरमुखी धाममा एकदिने महोत्वस आयोजना गर्न लागिएको हो ।
महोत्सवमा सांस्कृतिक झाँकीसहित आदिवासी लिम्बू समुदायको मौलिक नृत्य च्याब्रुङ नाच (केःलाङ) प्रदर्शन गर्ने, धाननाच (याःलाङ), पालाम, हाक्पारेलगायतको प्रस्तुतिसहित र सांस्कृतिक पोसाकहरुको प्रदर्शनी रहने किरात याक्थुङ चुम्लुङ माङसबुङ अध्यक्ष मनरस लिम्बूले जानकारी दिनुभयो । महोत्सवमा ५०० बढी च्याब्रुङ एकसाथ प्रदशर्न गरिने उहाँले बताउनुभयो । “केलाङ केवल नात वा बाजा मात्र होइन, यो लिम्बू समुदायको इतिहास, सभ्यता र सांस्कृतिक पहिचानसँग जोडिएको अमूल्य सम्पदा हो”, अध्यक्ष लिम्बूले भन्नुभयो, “युवापुस्तालाई मौलिक संस्कृतिसँग जोड्दै यसको संरक्षण र पुस्तान्तरण गर्नु अहिलेको आवश्यकता रहेकाले हामीले महोत्सव आयोजना गर्न लागेका हौँ ।”
महोत्सवमा च्याब्रुङ नाच (केःलाङ), धाननाच (याःलाङ), पालाम, हाक्पारे, ख्यालीलगायत सांस्कृतिक कला प्रस्तुति र लिम्बू पोसाक प्रदर्शनी गरिनेछ । “कला, संस्कृति र परम्पराको संरक्षण, प्रवद्र्धन र पुस्तान्तरण गर्न ५०० बढी च्याब्रुङ नृत्य (केःलाङ) सहितको सांस्कृतिक कलाहरु रहनेछन्”, अध्यक्ष लिम्बूले भन्नुभयो । उहाँका अनुसार तागा (पुरुषले लगाउने सांस्कृतिक पोसाक) र मेख्ली (महिलाले लागाउने सांस्कृतिक पोसाक) पनि प्रदर्शन गरिनेछ ।
धार्मिकस्थल गजुरमुखी धाम परिसरमा हुने महोत्सवमा इलामको १० वटा स्थानीय तहसहित झापा र पाँचथरका किरात याक्थुङ चुम्लुङको सहभागिता रहनेछ । नयाँ र पुराना पुस्ता मिलेर पुख्र्यौली कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पुस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको सचिव असिम योङहाङले बताउनुभयो । महोत्सव आयोजना गर्न माङसेबुङ गाउँपालिकाले रु सात लाख सहयोग उपलब्ध गराएको छ । स्थानीय जातजातिको कला, संस्कृति र पहिचानको संरक्षणमा माङसेबुङ गाउँपालिकाको प्राथिमकता रहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले बताउनुभयो ।
च्याब्रङ नाच (केःलाङ) को आफ्नै ऐतिहासिकता, नीति र प्रयोगको नियम रहेको जानकार मोहनसिंह थेवे बताउनुहुन्छ । च्याब्रङ नाच (केःलाङ) विभिन्न जनावर र पशुपक्षीको अभिनय गर्दै समेत नाच्ने गरिन्छ । च्याब्रङ नाच (केःलाङ) मा परिवेशअनुसार च्याब्रुङको ताल पनि फरक हुन्छ । लिम्बू जातिले शताब्दीऔँ अघिदेखि नाच्दै आएको च्याब्रङ नाच (केःलाङ) लाई व्यवस्थित गर्न किरात याक्थुङ चुम्लुङसहित लिम्बू भाषा, संस्कृतिको क्षेत्रमा सक्रिय सङ्घसंस्थाहरुल् प्रयास गर्दै आएका छन् । यद्यपी, राज्यले लगानी र संरक्षणका लागि चासो र तदारुकता नदेखाएको उनीहरुको गुनासो छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा लिम्बू जातिको जनसङ्ख्या तीन लाख ५९ हजार ३७९ रहेकामा इलाममा मात्र ४५ हजार सात रहेको छ ।