स्याङ्जा जिल्लाको चापाकोट नगरपालिका–१०, किसान (उटक) का स्थायी बासिन्दा विशाल कोइरालाको परिचय बहुआयामिक छ । एकातिर उनी निजामती सेवामा प्रशासन सहायक पाँचौँ पदमा कार्यरत राष्ट्रसेवक कर्मचारी हुन् भने अर्कोतिर उनी क्रिकेटको जर्सीमा सजिएर मैदानमा उत्रिँदा आक्रामक खेलाडी ।
वि.सं. २०७६ सालमा लोकसेवा आयोग पास गरेर सरकारी सेवामा प्रवेश गरेका कोइरालाले जागिर र खेल जीवनलाई सँगसँगै अगाडि बढाइरहेका छन् । बुवा वसन्त कोइराला र आमा भगवती कोइरालाका कान्छा छोरा विशालले स्याङ्जा जिल्ला क्रिकेट टोली हुँदै विभिन्न राष्ट्रियस्तरका प्रतियोगिताहरूमा आफ्नो कौशल देखाइसकेका छन् । प्रस्तुत छ, हाल चापाकोट नगरपालिका वडा नम्बर १ का वडा सचिव समेत रहेका विशाल कोइरालासँग विवेक विश्वकर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत छ:
निजामती सेवा र क्रिकेट, दुई फरक क्षेत्रलाई सँगै अगाडि बढाइरहनुभएको छ । तपाईँको सुरुवाती रुचिचाहिँ कुन क्षेत्रमा थियो ?
मेरो बाल्यकालदेखिकै रुचि र लक्ष्य भनेको क्रिकेट खेलाडी बन्ने नै थियो । मैले आफ्ना दाजु विपिन कोइरालाबाट क्रिकेटका सुरुवाती चरणहरू सिक्ने अवसर पाएँ । एसएलसीपछि मलाई क्रिकेट एकेडेमीमा गएर सिक्ने ठुलो रहर थियो । तर, हाम्रो समाज र पारिवारिक परिवेशमा खेलभन्दा पढाइ र सरकारी जागिर निजामती सेवालाई बढी महत्त्व दिइन्थ्यो । परिवारको इच्छा र भविष्यको सुरक्षालाई मध्यनजर गर्दै मैले २०७६ सालमा निजामती सेवामा नाम निकालेँ । यद्यपि, मनमा क्रिकेटको हुटहुटी कायमै रहेकाले २०७५ सालदेखि जिल्ला क्रिकेट टोलीमा छनोट भई निरन्तर खेलिरहेको छु ।
सरकारी जागिरको व्यस्तता बिच क्रिकेटका लागि समय कसरी व्यवस्थापन गर्नुहुन्छ ?
यो पक्कै पनि चुनौतीपूर्ण छ । विभागीय टोलीहरू जस्तै आर्मी, पुलिसमा जस्तो निजामती सेवामा खेलाडीका लागि छुट्टै कोटा वा सुविधा छैन । मैले कार्यालयको काममा असर नपर्ने गरी बिदा लिएर वा अतिरिक्त समय निकालेर अभ्यास र खेलमा सहभागी हुने गरेको छु ।
सुरुमा हरिनास गाउँपालिकामा ५ वर्ष काम गर्दा अध्यक्ष खिम नारायण मानन्धरबाट धेरै सहयोग पाएँ । त्यसपछि लमजुङको दूधपोखरी गाउँपालिकामा ४ महिना काम गरेँ । अहिले आफ्नै गृहपालिका चापाकोटमा छु, जहाँ नगर प्रमुख देव बहादुर खाँण र प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला सरहरूबाट खेलका लागि निकै सकारात्मक प्रोत्साहन र सहयोग मिलिरहेको छ । यही सहयोगले गर्दा मैले सातौँदेखि नवौँ राष्ट्रिय खेलकुद, गण्डकी कप, केपी ओली कपजस्ता ठुला प्रतियोगिताहरू खेल्न भ्याएको छु ।
तपाईँको खेल जीवनले तपाईँको गाउँ ‘उटक’ को परिचयलाई कसरी बदल्न सफल भयो ?
पहिले स्याङ्जाको चापाकोट–१०, उटक (किसान) क्षेत्रलाई बाहिरी दुनियाँले खासै चिन्दैनथ्यो । स्याङ्जालाई कर्मचारीहरूको उर्वर भूमिको रूपमा त चिनिन्छ, तर मलाई लाग्छ क्रिकेटले मेरो र मेरो ठाउँको एउटा छुट्टै र विशिष्ट पहिचान बनाएको छ ।
अहिले जब मानिसहरूले “विशाल कोइराला कहाँको हो ?“ भनेर सोध्छन्, म गर्वका साथ “चापाकोट १०, किसान उटक”भन्छु । क्रिकेटकै कारण अहिले मेरो गाउँको नाम धेरै ठाउँमा पुगेको छ । विभिन्न ठाउँमा खेल्न जाँदा आफ्नो गाउँको प्रतिनिधित्व गर्न पाउँदा र गाउँलाई चिनाउन पाउँदा निकै आत्मसन्तुष्टि र गौरव महसुस हुन्छ ।
चापाकोटको क्रिकेट टोलीको कप्तानका रूपमा तपाईँको अनुभव कस्तो रह्यो ?
यो मेरो खेल जीवनको एउटा महत्त्वपूर्ण मोड थियो । सुरुवाती दिनमा चापाकोट नगरको टोली निकै कमजोर मानिन्थ्यो, कतिपय अवस्थामा त सहभागी हुन पनि गाह्रो थियो । तर, जब मैले कप्तानी सम्हालेँ, हामीले कडा मेहनत गर्यौँ । फलस्वरूप, चापाकोटको टोली गण्डकी र लुम्बिनी प्रदेशकै एउटा उत्कृष्ट टोलीका रूपमा स्थापित हुन सफल भयो । एउटा सरकारी कर्मचारीले नेतृत्व गरेको टिमले यस्तो नतिजा ल्याउनु मेरो लागि ठुलो खुसीको कुरा हो ।
अब अलिकति प्रशासनिक पाटोतिर जाऔँ । वडा सचिवको रूपमा काम गर्दा कस्ता चुनौतीहरू भोग्नुपरेको छ ?
वडा सचिवको पद स्थानीय तहमा जनतासँग प्रत्यक्ष जोडिने र सबैभन्दा जिम्मेवार पद हो । कामको चाप धेरै हुन्छ तर कर्मचारीको अभाव प्रायः सचिव र सहयोगी मात्रले गर्दा समय व्यवस्थापन गर्न गाह्रो हुन्छ । सेवाग्राहीमा कानुनी प्रक्रियाबारे जानकारीको अभाव हुँदा बुझाउन समय लाग्छ । कहिलेकाहीँ जनप्रतिनिधिज्यूहरूबाट नियमभन्दा अलि बाहिर गएर काम गरिदिन आग्रह आउँछ, त्यस्तो बेला उहाँहरूलाई कानुनी परिधि बुझाएर ‘नाइँ’ भन्नु वा सहजीकरण गर्नु चुनौतीपूर्ण हुन्छ । यद्यपि, अहिले डिजिटल प्रणालीले काममा केही सहजता ल्याएको छ ।
अभिभावक र नयाँ पुस्तालाई के सन्देश दिन चाहनुहुन्छ ?
अहिलेको डिजिटल युगमा बालबालिकाहरू मोबाइलमा मात्र झुन्डिने समस्या छ । म अभिभावकहरूलाई आग्रह गर्छु कि आफ्ना छोराछोरीलाई मोबाइलको साटो शारीरिक व्यायाम हुने खेलकुदमा लाग्न प्रेरित गर्नुहोस् । अहिले नेपालमा क्रिकेटको राम्रो भविष्य छ, अभिभावकहरूको सोच पनि फेरिएको छ । चापाकोटमै पनि उत्कृष्ट क्रिकेट मैदान छ । म आफैँ पनि फुर्सदमा भाइहरूलाई सिकाउने गर्छु । मेरो अबको लक्ष्य भनेको आगामी ४–५ वर्ष पूर्ण रूपमा क्रिकेटमा केन्द्रित भएर नेपालको राष्ट्रिय टोलीबाट खेल्ने हो । म त्यसकै तयारीमा जुटिरहेको छु ।
मेरो प्यारो भाइ धेरै माया अनि अझ उन्नतिको कामना
मेरो प्यारो भाइ धेरै माया अनि अझ उन्नतिको कामना
मेरो प्यारो भाइ धेरै माया अनि अझ उन्नतिको कामना
Very good job
नाम जस्तै काम बिशाल
Congratulations vai sadai happy milosh vai lai
Congratulations vai sadai happy milosh vai lai