भैरहवा । अपराधका घटनामा अपराधीहरुद्वारा नया नया तरिकाहरु अपनाइने गरेको र त्यसैको अनुपातमा नेपाल प्रहरीलाई साधनश्रोत सम्पन्न बनाईनु पर्ने आवाज उठेको छ । प्रदेश प्रहरी कार्यालय लुम्बिनी प्रदेशको आयोजनामा बुटवलमा सम्पन्न प्रदेश स्तरिय अपराध अनुसन्धान समिक्षा गोष्ठिमा बोल्ने प्रहरी अधिकृतहरुले नेपाल प्रहरीमा सधान श्रोतको कमि रहेको बताए ।
नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०८० को लक्ष्य अनुसार प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी आयोजना गरिएको हो । अपराध अनुसन्धानको लागि खटिएका विभिन्न तहका प्रहरी युनिट तथा अधिकृतहरूबाट अपराध अनुसन्धान सम्बन्धी विषयमा छलफल गर्न साझा फोरमको रुपमा गोष्ठिको आयोजना गरिएको लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरिक्षक उमेशराज जोशीले बताए ।
अपराध अनुसन्धान जस्तो जटिल र बृहत विषयमा धेरै व्यक्तिहरुको अनुभवबाट शिक्षा लिई त्यसमा थप अध्ययन गरी आफ्नो ज्ञान सीपलाई फराकिलो बनाउदै जानु जरुरी हुन्छ । यो गोष्ठीको आयोजना यिनै कुराहरूको परिपूर्तिको लागि उपयुक्त मञ्च हुने अपेक्षा रहेको जोशीले बताए । “देशभरिमा देखिएका साझा समस्या, नया प्रविधिबाट भएका अपराध अनुसन्धानमा भएका अन्य प्रदेशमा तथा अन्तर जिल्लामै भएका अभ्यासहरु आदानप्रदान गर्ने हुन्छ ।” जोशीले भने “यहा देखिएका समस्या तथा चुनौतीहरु संकलन गरि केन्द्रमा पठाउछौं, एवम आमीलाई आवश्यक तालीमको छानौट गछौं ।”
उनले सिधै अपराध भन्न नसक्ने खालका आत्महत्या जस्ता अपराध न्युनिकरण लगायत साईबर अपराध अनुसन्धानको मुद्दा चलाउने अधिकार दिईए पनि तर यसको लागि आवश्यक श्रोत साधन नहुदा कठिनाई आएको उनको भनाई छ । यसको लागि पनि भविष्यमा तालीमहरु गरेर यसलाई समाधान गरिने जोशीले बताए ।
६ वटा प्रदेशहरुमा समीक्षा गोष्ठि सम्पन्न भई सकेको छ । ६ वटा गोष्ठिहरुमा साझा रुपमा अनुसन्धानमा संलग्न प्रहरीलाई साधान श्रोत सम्पन्न बनाउनु पर्ने धारणाहरु उठेको अतिरिक्त प्रहरी महानिरिक्षक टेक बहादुर तामाङ्गले बताए । “धेरै जसो प्रदेशमा सझा सुझावको रुपमा सधान श्रोतहरुको कमिकै कुराहरु आएको छ ।” उनले भने “कार्यको प्रभावकारीताको लागि अपराध अनुसन्धान शाखालाई गाडीको ब्यवस्था, सबुत प्रमाणहरुको भण्डारको ब्यवस्था, ल्याब परिक्षणको रिपोर्ट छिटै आउनुपर्ने लगायत तालीमको अभावको कुराहरु आउने गरेको छ ।”
तामाङ्गले साईबर अपराध, क्रिप्टो करेन्सी लगायतका आधुनिक अपराधहरु पहिला केन्द्रमा मात्रै भए पनि अहिले जिल्लामै हेर्ने गरि ब्यवस्थापन भएको छ । यसको लागि समय अनुसार प्रहरीमा पनि दक्षता हासिल गरिरहनु पर्ने आवश्कयता रहेको उनले औल्याए । यसब बाहेक अनुसन्धान गर्न डिजिटल फरेन्सीक ल्याब लगायतको अभाव रहेकोले यसलाई प्रदेश स्तरमै विकास गर्नुपर्ने तामाङ्गले औल्याए ।
व्यवसायिक प्रहरीले मात्र अपराध नियन्त्रित समाजको निर्माण गर्न सक्दछ । अपराध अनुसन्धानको जटिल कार्यमा अपेक्षित परिणाम ल्याउन फिल्डमा अनुसन्धान कार्य गर्ने जनशक्ति, अपराध अनुसन्धान सम्बन्धी कार्यको सुपरीवेक्षण गर्ने अधिकारीहरू, उपयुक्त तालिम दिने तालिम प्रदायक निकायहरू, अपराध अनुसन्धान सम्बन्धी नीतिगत पक्ष हेर्ने अनुगमन तथा नीति निर्माण तहको संयुक्त प्रयासबाट मात्र सम्भव हुने कार्यक्रमका वक्ताहरुको भनाई थियो ।
गोष्ठिको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेले सकारात्मक सोचका साथ अगाडी बढ्न प्रहरीलाई आग्रह गरे । अपराध अनुसन्धानमा सिमित साधन श्रोतले पनि नेपाल प्रहरीले उत्कृष्ट सेवा दिएको उनको भनाई छ । चालु आर्थिक बर्षमै प्रदेश सरकारले साइबर अपराध अनुसन्धानमा सहयोग पुग्ने गरि बजेट बिनियोजन गरिएका पाण्डेले बताए ।
गोष्ठिमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका प्रहरी अधिकृतहरुको सहभागीता रहेको थियो । जिल्ला प्रहरी कार्यालय सहित मुद्दा चलाउने प्रहरी एवम अपराध फाँटका अधिकारीहरु सहभागी थिए ।