सरकारलाई सिद्धार्थनगरले भन्यो–शिक्षकका जायज माग सम्बोधन गरियोस्

Ujyalosandeshonline 11144+ समाचार ( )
२५ चैत्र २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख (मेयर) इश्तियाक अहमद खाँले आन्दोलनरत शिक्षक महासंघका जायज मागहरु तत्काल सम्बोधन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । शिक्षकहरु आन्दोलित हुँदा विद्यालयको परिक्षा नतिजा प्रकाशन तथा नयाँ शैक्षिक सत्रको भर्ना अभियानलाई समेत असर परेको मंगलबार खाँद्वारा जारी बिज्ञप्तिमा उल्लेख गर्दै उनले जायज र विगतमा भएका सम्झौताहरुको कार्यान्वयन गरी शिक्षकहरुलाई काममा फर्कने वातावरण निमार्ण गर्न सरकारसँग आग्रह गरेका हुन ।

विद्यालय शिक्षा ऐन २०८० को मस्यौदामा शिक्षकका मागहरु समावेश नभएको, शिक्षकहरुको स्थायित्व, सेवा सुविधा, सरुवा–बढुवा जस्ता विषयमा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको र ती सहमति बारम्बार उल्लंघन भएको ठहर गरी नेपाल शिक्षक महासंघले गत चैत २० गते देखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएकोले यसबाट सिद्धार्थनगर नगरपालिकामा शैक्षिक गतिविधिहरु प्रभावित भएको विज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा भनिएको छ–‘शिक्षा क्षेत्रको स्थायित्व र प्रगतिको लागि शिक्षकहरुको आत्मसम्मान कायम राख्दै आफ्नो कर्मथलो फर्कने उचित वातावरण निर्माणका लागि नेपाल सरकारलाई हार्दिक अनुरोध गर्दछु।’ उनले वार्ता र सम्वादका माध्यमवाट समस्याको समाधान निकाल्न दुवै पक्षलाई आग्रह समेत गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार