भैरहवा । “ओमसतियाको शान: सुन्दर, शान्त, समृद्ध गाउँपालिका हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसाथ गर्दै रुपन्देहीको ओमसतिया गाउँपालिकामा ‘अध्यक्ष कप अन्तरविद्यालय सामुदायिक र संस्थागत क्रिकेट प्रतियोगिता’ को शुभारम्भ भएको छ । विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने तथा गाउँपालिकाभित्र क्रिकेट खेलको प्रवर्द्धन र विकास गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगिताको उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी, प्रवक्ता मदन प्रसाद पोखरेल तथा प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीको उपस्थिति रहेको थियो । विशेष गरी नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व चर्चित खेलाडी शक्ति गौचनको उपस्थितिले कार्यक्रमको माहोललाई थप उत्साहजनक र रौनकपूर्ण बनाएको थियो । गौचनको उपस्थितिले विद्यार्थी खेलाडीहरूमा नयाँ जोस र जाँगर थपेको महसुस गरिएको थियो ।गाउँपालिकाभित्र रहेका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको यस प्रतियोगिताले स्थानीय स्तरबाटै क्रिकेटका नयाँ प्रतिभाहरू उत्पादन गर्न मद्दत पुग्ने विश्वास लिइएको छ ।