मर्चवार । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट रुपन्देही क्षेत्र नम्बर ४ का उम्मेदवार सर्वेन्द्रनाथ शुक्लाले विगतका अधुरा विकास निर्माणका कामलाई पूर्णता दिन आफू पुनः चुनावी मैदानमा होमिएको बताएका छन् । संसद् विघटन लगायतका विशिष्ट परिस्थितिका कारण रोकिएका विकास प्रक्रियालाई निरन्तरता दिनु आफ्नो प्रमुख लक्ष्य रहेको बताउँदै उनले प्राविधिक विद्यालय स्थापना र मझगाँवामा निर्माणाधीन अस्पताल निर्माणलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।
डीपीआर र जग्गा प्राप्तिको काम सकिएको उक्त अस्पताललाई आगामी २०८४ सालसम्ममा पूर्ण सञ्चालनमा ल्याउने उनको योजना छ । साथै, देशको वर्तमान कमजोर अर्थतन्त्र र राजनीतिक द्वन्द्व समाधानका लागि संसद्मा आफूजस्तो मध्यमार्गी र जिम्मेवार नेताको आवश्यकता रहेको उनले औंल्याएका छन् ।
आफ्नो अघिल्लो कार्यकालमा मर्चवार क्षेत्रको चौतर्फी विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको शुक्लाको दाबी छ । उनले आफ्नै पहलमा खडवा बाँधमार्फत सिँचाइ सुविधा, डिप ट्युबेल जडान, २८५ गाउँमा विद्युतीकरण र सडक निर्माणका काम भएको स्मरण गराएका छन् । यसका अतिरिक्त मझगाँवामा पहिलो क्याम्पस स्थापना गर्नुका साथै विवादका बाबजुद मालपोत, नापी र विद्युत् जस्ता महत्त्वपूर्ण सरकारी कार्यालयहरू मर्चवारमै ल्याउन आफू सफल भएको उनले दृष्टान्त प्रस्तुत गरेका छन् ।
चुनावी माहोल तात्दै गर्दा आफूलाई कमजोर देखाउन उम्मेदवारी फिर्ता लिएको भनी विपक्षीले फैलाएको हल्ला पूर्णतः भ्रामक रहेको शुक्लाले स्पष्ट पारेका छन् । मनोनयन दर्ता गरिसकेपछि पछि हट्ने आफ्नो राजनीतिक स्वभाव नरहेको भन्दै उनले यस्ता अफवाहको भ्रममा नपर्न मतदातालाई आग्रह गरेका छन् ।
आगामी २१ गते हुने निर्वाचनमा जनताको निर्णय स्वीकार गर्न आफू दृढताका साथ मैदानमा रहेको उनले बताए । यसैबीच, एक जना कार्यकर्ताले पार्टी परित्याग गरेको विषयमा बोल्दै उनले विगतमा पनि ती व्यक्तिको क्षेत्रबाट आफूले मत नपाएको हुनाले आफ्नो व्यक्तिगत मत परिणाममा त्यसले कुनै असर नपर्ने दाबी गरेका छन् ।