चितवन । नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि परेको वर्षापछि अहिले नारायणी नदीले सतर्कता तह पार गरेको हो । नारायणी बेसिन कार्यालय चितवनका अनुसार हाल पानीको सतह आठ दशमलव ३० मिटर पुगेको छ । कार्यालयका प्रमुख सुमित अधिकारीले नदीको बहाव बढ्दै गएकोले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार नारायणी नदीमा पानीको बहाव सात दशमलव ३० मिटर सर्तकर्ता तह मानिन्छ ।
बहावले नौ मिटर पार गर्दा खतरा तह पुग्ने जनाउँदै प्रमुख अधिकारीले अब फेरि वर्षात भएमा पानीले जोखिम तह पार गर्ने सम्भावना रहेकाले सर्तक रहन सबैमा आग्रह गरिएको उल्लेख गर्नुभयो । नदीले सर्तकता तह पार गरे पनि अहिलेसम्म नदी किनारका बस्तीमा पानी पसिसकेको छैन । उहाँले भन्नुभयो, “अब फेरि वर्षात भएमा ठूलो बाढीको सम्भावना छ ।” प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सुरक्षीत स्थानमा बस्नका लागि आग्रह गरिएको बताउनुभयो । उहाँका अनुसार तत्काल उद्धारका लागि तयारी अवस्थामा सुरक्षा निकाय रहेका भन्दै अहिले सूचना प्रवाह गर्ने, पूर्वतयारीका काम भइरहेका उहाँले जानकारी दिनुभयो ।