भैरहवा । रुपन्देही प्रहरीले बढ्दो साईबर अपराधलाई लक्षित गर्दै विद्यार्थीहरुका लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । एसओएस बालग्राम लुम्बिनी, रुपन्देहीसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले अनलाईन ठगी र साईबर सुरक्षा सम्बन्धी प्रशिक्षण दिएको हो ।
बालग्राममा अध्ययनरत करिब ४५ जना विद्यार्थी तथा कर्मचारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अनलाईनमार्फत हुने ठगी, साईबर अपराधका स्वरूप र त्यसबाट बच्ने उपायहरुका बारेमा विस्तृत जानकारी गराइएको थियो । प्रहरी कार्यालयका अनुसार, सहभागीहरुलाई साईबर अपराधसँग सम्बन्धित कानुनी व्यवस्था र सजायका बारेमा पनि सचेत गराइएको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक भरत केसीले कार्यक्रममा प्रशिक्षण दिनुभएको थियो । उहाँले सामाजिक सञ्जालको प्रयोगमा अपनाउनुपर्ने सावधानी, अपरिचित व्यक्तिसँगको अनलाईन संवाद, व्यक्तिगत विवरणको सुरक्षा र आर्थिक प्रलोभनमा पर्नबाट जोगिने तरिकाहरुबारे प्रष्ट पार्नुभएको थियो ।
पछिल्लो समय सूचना प्रविधिको विकाससँगै साईबर अपराधका घटनाहरु पनि बढ्दै गएको परिप्रेक्ष्यमा नेपाल प्रहरीले यस्ता सचेतनामूलक कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको छ । प्रहरीले साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि केन्द्रीय स्तरमा साईबर ब्यूरो स्थापना गरी काम गरिरहेको छ । यस्ता कार्यक्रमहरुले युवा तथा विद्यार्थीहरुलाई डिजिटल संसारमा सुरक्षित रहन मद्दत पुग्ने विश्वास लिइएको छ ।