भैरहवा । बौद्ध पर्यटनसँग सम्बन्धित विश्वव्यापी मञ्च एसोसिएशन अफ बुद्धिष्ट टुर अपरेटरस् द्वारा भारतको बिहारस्थित नालन्दा मा आयोजित ८ औँ एबीटीओ अन्तर्राष्ट्रिय बुद्ध ट्राभल मार्ट –२०२५ मा सहभागिताका लागि लुम्बिनी सांस्कृतिक नगरपालिकाको अगुवाइमा एक प्रतिनिधिमण्डल भारततर्फ प्रस्थान गरेको छ।
नगरपालिकाका तर्फबाट प्रतिनिधित्व गर्दै उपसचिव हरि प्रसाद ज्ञवाली, वडा अध्यक्ष एवं प्रवक्ता ईनामुल्ला फकिर, पर्यटन तथा समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाल, तथा शिवनन्दन हरिजन सम्मेलनमा सहभागी हुनेछन । यसै गरि लुम्बिनी होटल संघको उपाध्यक्ष भुपेन्द्र गुरुङ्ग, एबीटिओको सल्लाहकार अशोक गुप्ता, लुम्बिनी विकास कोषका नायब सुब्बा दिलिप कुलुङ, पर्यटन व्यवसायी ताराचन्द्र अर्याल, केशवराज न्यौपाने र माया गुरुङ्ग, पत्रकार राधेश्याम विश्वकर्मा र मोहम्मद हबिब पनि सम्मेलनमा सहभागी हुन भारत विहार प्रस्थान गरेका छन ।
सहभागी टोलीलाई लुम्बिनी सांस्कृतिक नगर पालिकाकी कार्यबाहक नगर प्रमुख कल्पना हरिजन तथा प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले विदाई गरेका थिए ।
यो महत्वपूर्ण कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ । यस सम्मेलनबाट बौद्ध संघ–संस्था तथा विश्वभरका प्रतिष्ठित संस्थासँग सहकार्य विस्तार, सांस्कृतिक तथा प्राकृतिक पर्यटनको प्रवर्द्धन, र विशेष गरी लुम्बिनी र बुद्ध परिपथ नेपालका साथै विश्वका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण, अध्ययन तथा अनुसन्धान क्षेत्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।