मर्चवार । सम्मरीमाई गाउँपालिक वडा नम्बर ६ मा रहेको समयमाई कृषि उपज बजार सञ्चालक समितिको सातौ बार्षिक साधारण सभा सोमबार मन्झरीया चौराहामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले कृषकहरुलाई आवश्यक परेको जुनसुकै समयमा आफु सहयोगको लागि तयार रहेको बताए । उनले मर्चवार कृषि क्षेत्रमै आश्रित रहे पनि मल, बिउ बिजन लगायतको समस्याबाट गुज्रिरहेको बताउदै यसबारे आफुले पटक पटक सदनमा आवाज उठाएको जिकिर गरे ।
यस्तै सम्मरीमाई गाउँपालिका अध्यक्ष विनोद श्रीवास्तवले नविकरण नभएका कृषि समूहहरुलाई नियमानुसार नविकरण गर्न आग्रह गरे । उनले नविकरण पश्चात गाउँपालिकालाई पनि सहयोग गर्न सहज हुने बताए । यसै बिच उनले पालिकाले समयमाई कृषि उपज बजार सञ्चालक समितिलाई पर्खाल निर्माणको लागि ५ लाख रुपैया बजेट छुट्टयाएको बताए ।
समयमाई कृषि उपज बजार सञ्चालक समितिका अध्यक्ष रामसेवक केवटको अध्यक्षता, प्रदेश सभा सदस्य कन्हैया बनियाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सम्मरीमाई गाउँपालिकाका अध्यक्ष विनोद श्रीवास्तव, उपाध्यक्ष कुमारी प्रिंयका सिंह शाही, वडा नम्बर ६ का अध्यक्ष तेलन केवट, कृषि शाखा प्रमुख सुरज पाण्डे, वडा नम्बर ६ का वूर्व वडा अध्यक्ष सत्यनारायण केवट, समाजसेवी केशव तिवारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शेषनाथ यादवको सञ्चालनमा सम्पन्न भएको थियो ।