भैरहवा । सशस्त्र प्रहरी बल नेपालले रुपन्देहीको रोहिणी गाउँपालिकाबाट ठूलो परिमाणको अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको गस्ती टोलीले रोहिणी गाउँपालिका वडा नं. १ सेमरपानीमा चेकजाँच गर्ने क्रममा उक्त अवैध सामान नियन्त्रणमा लिएको हो।
भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा कपडा, कस्मेटिक सामान तथा किराना सामानहरू बरामद गरिएको छ। बरामद गरिएका सामानहरूको अनुमानित बजार मूल्य रु. १० लाख बाह्र हजार रहेको सशस्त्र प्रहरीले जनाएको छ। साथै, सामान ओसारपसारमा प्रयोग गरिएका UP 56 BB 1635 नम्बरको भारतीय स्कुटर र लु ४३ प ३०७ नम्बरको नेपाली स्कुटर गरी दुई थान स्कुटरसमेत नियन्त्रणमा लिइएको छ।
बरामद गरिएका सम्पूर्ण सामान तथा सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ। सीमा क्षेत्रमा हुने अवैध कारोबार तथा तस्करी नियन्त्रणका लागि सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाले आफ्नो गस्ती तथा निगरानी तीव्र पारेका कारण पछिल्लो समय सो क्षेत्रबाट दिनहुँजसो अवैध सामानहरू बरामद भइरहेका छन्।