रसुवा । नेपाल-चीन सीमा नाका रसुवागढी हुँदै पवित्र धार्मिकस्थल मानसरोवर तथा कैलाश पर्वतको तीर्थयात्रारूपमा सुरु भएको छ । यस याममा हालसम्म तीन सय तीर्थयात्री चीनको केरुङ नाका हुँदै मानसरोवरतर्फ प्रस्थान गरिसकेको अध्यागमन कार्यालय टिमुरेले जनाएको छ । कार्यालयका निमित्त प्रमुख मेघनाथ शर्माका अनुसार यस वर्ष भारतीय, रुसी तथा बेलायतका नागरिकसमेत मानसरोवर यात्रामा सहभागी भएका छन् ।
गत वर्ष रसुवागढी नाका भएर ११ हजार ३८१ तीर्थयात्री मानसरोवर, कैलाश गएको अध्यागमन कार्यालयको तथ्याङ्कले देखाएको छ । यात्रु आगमन बढेसँगै भिसा शुल्कबाट राजस्व सङ्कलन पनि उल्लेखनीय रूपमा वृद्धि भएको छ । चालु आवको नौ महिनामा मात्र रु ३० लाख राजस्व सङ्कलन भइसकेको छ भने गत वर्षको कुल वार्षिक राजस्व रु ११ लाख २८ हजार २५० सङ्कलन भएको जनाइएको छ ।
धार्मिक ग्रन्थमा मानसरोवरको महत्व
हिन्दू, बौद्ध, तथा बोन धर्मावलम्बी विभिन्न धर्मावलम्बीका लागि मानसरोवर पवित्र तीर्थस्थल मानिन्छ । हिन्दू धार्मिक ग्रन्थमा भगवान् शिव र माता पार्वतीको निवास कैलाश पर्वतलाई ब्रह्माण्डको आध्यात्मिक केन्द्रका रूपमा वर्णन गरेको पुरोहित उपेन्द्र मिश्रले बताउनुभयो । पुराणका अनुसार ब्रह्माले आफ्नो मनबाट सृष्टि गरेको पवित्र सरोवर भएकाले यसको नाम ‘मानसरोवर’ रहन गएको विश्वास छ । यस सरोवरमा स्नान गरे पापनाश हुने र मोक्ष प्राप्ति हुने धार्मिक आस्था रहिआएको छ ।बौद्ध धर्ममा यस क्षेत्रलाई ध्यान तथा आध्यात्मिक ऊर्जा प्राप्त गर्ने पवित्र स्थल मानिन्छ भने जैन धर्मावलम्बीले पहिलो तीर्थकर ऋषभदेवले ज्ञान प्राप्त गरेको स्थानका रूपमा रहेको बताइन्छ ।
रसुवागढीबाट यात्रा दूरी र समय
नेपालबाट स्थलमार्ग हुँदै मानसरोवर पुग्ने सबैभन्दा छोटो र सहज मार्ग रसुवागढी–केरुङ मार्ग मानिन्छ काठमाडौँ–रसुवागढी दुरी करिब १३५ किलोमिटर रसुवागढी–केरुङ करिब २५ किलोमिटर केरुङ–सागा–मानसरोवर, करिब ७५० देखि ८०० किलोमिटर छ । सामान्यतया केरुङ प्रवेशपछि उच्च हिमाली भू–भाग पार गर्दै मानसरोवर पुग्न तीनदेखि चार दिन लाग्ने गर्दछ । सम्पूर्ण कैलाश–मानसरोवर परिक्रमासहितको यात्रा भने १० देखि १४ दिनसम्म चल्ने कैलाश पुगी फर्केका यात्रु बताउँछन् ।
सीमा परिचयपत्र वितरण बढ्दो
केरुङ आवतजावतका लागि रसुवावासीले पाउने सीमा परिचयपत्र वितरण पनि बढिरहेको छ । चालु आवको नौ महिनामा ५९६ नयाँ र प्रतिलिपि एवं नवीकरण समग्रमा कुल छ हजार २९५ सीमा परिचयपत्र जारी गरिएको निमित्त प्रमुख शर्माले जानकारी दिनुभयो । रसुवावासीलाई नागरिकताको आधार तथा अन्य जिल्लाबाट नागरिकलाई बसाइँसराइ गरी आउनेलाई भने जग्गाधनी प्रमाण पुर्जा, बसाइँसराइ प्रमाणपत्र र सम्बन्धित वडाध्यक्षको सिफारिसका आधारमा सिमापास उपलब्ध गराउने व्यवस्था रहेको अध्यागमन कार्यालय रसुवा घट्टेखोलाले जनाएको छ ।
धार्मिक पर्यटनसँगै स्थानीय अर्थतन्त्र चलायमान
मानसरोवर यात्रुको आवागमन बढ्दै जाँदा रसुवागढी नाका आसपास होटल, यातायात, पथप्रदर्शक सेवा तथा स्थानीय व्यापार व्यवसाय सक्रिय बन्न थालेका छन् । धार्मिक पर्यटन विस्तारसँगै रसुवाका सीमावर्ती क्षेत्रलगायत आसपासका आर्थिक गतिविधि चलायमान हुने अपेक्षा गरिएको छ । हिमालयको काखमा अवस्थित पवित्र तीर्थ मानसरोवर यात्रा पुनःगतिशील बन्दै जाँदा नेपाल–चीन सीमावर्ती क्षेत्र धार्मिक पर्यटनको महत्वपूर्ण केन्द्रका रूपमा स्थापित हुँदै गएको गोसाइँकुण्ड गाउँपालिका वडा नं २ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताउनुभयो ।