इटहरी । कोशी प्रदेश सरकारले आफ्नो महत्वकांक्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली आउने भनी चौतर्फी निमन्त्रणा गरिएको थियो । तेह्रथुमर सङ्खुवा सभाको संगमस्थल तीनजुरे मिल्के क्षेत्रमा आयोजना भएको उद्घाटन सत्रको उद्घाटनका लागि मङ्गलवार दिउँसो पनि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री आउने जानकारी गराएका थिए ।
विराटनगरमा आयोजना गरिएको पर्यटन वर्ष समेत लक्षित प्रदेश समन्वय समितिको बैठकमा अध्यक्षता गरिरहेका कार्कीले भनेका थिए,‘भोलीबाट सुरु हुने कोशीको पर्यटन वर्ष २०८२ लाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उद्घाटन गर्नु हुने छ । यस्तै विशिष्ठ अतिथिका रूपमा उपप्रधान मन्त्री प्रकाश मान सिंह आउनु हुने छ ।’
तर प्रधानमन्त्री आउँने भनी महिनौँ तयारी गरेको र निमन्त्रणामा समेत प्रधानमन्त्री आउने चर्चा गरिएको समारोहमा नै भने अनुसारको काम नभएपछि सरकारले लिएको लक्ष्य कसरी पुरा होला भन्ने शंका पैदा भएको छ ।
यद्यपि कोशी सरकारले आयोजना गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन उप–प्रधान एवं सहरी विकाश मन्त्री प्रकाशमान सिंहले गरेका छन् । प्रधानमन्त्री आउने भनेर पुगेका स्थानीयतहका जनप्रतिनिधि तथा स्थानीयलाई खिन्नता छाएको छ ।
एक जना स्थानीयतहका जनप्रतिनिधिले भने,‘प्रधानमन्त्री आउने भनेर भनिएको थियो तर ढाँट गरेजस्तै भएपछि म पनि गइन ।’
किन आएनन् प्रधानमन्त्री ?
२४ घण्टा अगाडिसम्म प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी अधिकारीहरू भने प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन् । उद्घाटन समारोहमा मुख्यमन्त्री हिकमत कुमार कार्कीले नै भने,‘प्रधान मन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नु भएन ।’
तर उनले भने जस्तो वस्तुस्थिति भने देख्न सकिँदैन । महिनौँ अगाडिबाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनिकार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन ।
खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधान मन्त्रीको आउने कार्यक्रम रद्द भएको हो । पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुमहो । विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो । तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फूल्न सकेको छैन ।
गुराँसलाई फुलाउनका लागि केहीदिन अघि त्यहाँ दमकल लगायतको प्रयोगले पानी समेत गुराँसका बोटहरूमा हालिएको थियो । त्यस बेला प्रधानमन्त्री आउने भएपछि गुराँसमा पानी हालिएको भन्दै तीव्र आलोचना समेत भयो ।
प्रधानमन्त्री मात्रै नभएर पर्यटन वर्षको उद्घाटन समारोहमा छिमेकी मुलुक भारतका मुख्य मन्त्रीहरूलाई समेत निमन्त्रणा गरिएको भएपनि उनीहरूले पनि सहभागिता जनाउन सकेनन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार विवेक गौतम लेख्छन्, ‘कोशी भ्रमण वर्ष उद्घाटन गर्ने गुराँसको जङ्गल नजिकै कङ्क्रिटका संरचना छन् । जलवायु परिवर्तन र यसको असर गम्भीर बन्दै छ ।’
वातावरण सम्बन्धीजानकारहरू वातावरण सम्बन्धी जानकारहरू जलवायु परिवर्तनका कारण यस प्रकारका असरहरू परिरहेको जनाउँदछन् । कार्यक्रमका सम्बन्धमा आलोचना भइरहेको र समारोह समेत उत्साहजनक नहुने भएपछि प्रधानमन्त्री नआएको कतिपयले तर्क गरेका छन् ।
कहाँ गए प्रधानमन्त्री ?
कोशी पर्यटन वर्षको उद्घाटन गर्न नआएर प्रधानमन्त्री ओली भने अर्घखाँची पुगेका छन् । उनले अर्घाखाँचीको पाणिनी तपो भूमि सम्मेलनको उद्घाटन गरे ।
के छ पर्यटन वर्षको लक्ष्य
बुधवार आलोचना र बिस्मातका साथ उद्घाटन भएको कोशी पर्यटन वर्ष २०८२ को लक्षभने प्रदेशलाई पर्यटकको माध्यमबाट सम्पन्न बनाइने छ । रमणीय कोशी नाराका साथ मनाइने वर्षमा पर्यटक आकर्षित गर्ने कार्यक्रमहरू वर्षै भरी आयोजना गरिने छन् । प्रदेशका मुख्य मन्त्री हिकमत कुमार कार्कीले समेत पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा हामी अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना हुने बताएका छन् ।
पर्यटन वर्षमा पर्यटन वर्षमा मुख्यतया ः भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ । १० करोडको सुनिश्चितताका साथ आयोजना गरिएको भ्रमण वर्षको उपलब्धि के त्यो चाहिँ हेर्न बाँकी रहेको छ ।