मर्चवार । कोटहीमाई गाउँपालिका वडा नं. ५ स्थित मर्चवार आदर्श बहुमुखी क्याम्पसमा कार्तिक १८, १९ र २० गते तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ। रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनी, रोटरी क्लब अफ पोखरा फििस्टेल र रोटरी ई-क्लब अफ मेडिको फ्युजनको संयुक्त आयोजना तथा कोटहीमाई गाउँपालिका वडा नं. ५ को सहकार्यमा उक्त शिविर हुन लागेको हो।
शिविरमा आँखा जाँच तथा मोतिबिन्दुको शल्यक्रिया, नाक, कान र घाँटी परीक्षण, स्तन तथा पाठेघरको मुखको क्यान्सर जाँच, अपाङ्गता भएकाहरूलाई ह्वीलचेयर वितरण र जनरल फिजिसियनद्वारा स्वास्थ्य परीक्षण गरिनेछ। गुणस्तरीय स्वास्थ्य सेवाबाट वञ्चित विपन्न, असहाय, ज्येष्ठ नागरिक र अपाङ्गता भएका मर्चवारीमाई, सम्मरीमाई, कोटहीमाई र मायादेवी गाउँपालिकाका ५ हजारभन्दा बढी बासिन्दालाई लक्षित गरिएको यस शिविरबाट लाभ लिन सम्बन्धित वडाध्यक्ष सञ्जयकुमार सैनीले सबैलाई आग्रह गरेका छन्।