तिलोत्तमा । लायन्स क्लब अफ भैरहवा लिगेसीको आयोजनामा तिलोत्तमा–१० स्थित नमुना ईङ्गलीस बोर्डिङ्ग स्कूलमा ‘शान्ति चित्रकला प्रतियोगिता’ सम्पन्न भएको छ। लायन्स वर्ष २०२६/२७ को ‘मानवतामा सद्भाव’ शीर्षकमा आयोजित उक्त प्रतियोगितामा ११ देखि १३ वर्ष उमेर समूहका १७ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा ७ की दिक्षा चौधरी प्रथम, कक्षा ७ कै जेसीका राना द्वितीय र कक्षा ६ की रिया घर्ती मगर तृतीय भएका छन्।
विजयी प्रथम, द्वितीय, तृतीयसहित चौथो र पाँचौँ स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कार वितरण गरिएको थियो। क्लबका अध्यक्ष लायन नारायण प्रसाद कोइरालाको अध्यक्षता तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ पी एरिया ५ का सचिव लायन अरुण पन्थीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि पन्थीले विश्वभर आयोजना हुने यस प्रतियोगिताका उत्कृष्ट प्रतिभाहरूलाई लायन्स हेडक्वार्टर र डिस्ट्रिक्टले समेत पुरस्कृत गर्ने जानकारी दिनुभयो। विद्यालयका प्राचार्य कमल कोइराला, लायन्स क्लब अफ बुटवल लोटसका अध्यक्ष लायन नारायणी काफ्ले र चित्रकार डोल बहादुर आलेको निर्णायक भूमिका रहेको उक्त कार्यक्रम लायन सुनिल पौडेलको संयोजनमा सम्पन्न भएको थियो।