भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बाइपास क्षेत्रबाट सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको १० लाख १५ हजार ६ सय रुपैयाँ बराबरको भन्सार छलीको सामान र दुई वटा सवारी साधन नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. डण्डा रुपन्देहीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपीकृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले उक्त सामान बरामद गरेको हो।
प्रहरीले छ लाख १५ हजार छ सय रुपैयाँ बराबरको किराना सामान तथा विभिन्न किसिमका औषधिहरू नियन्त्रणमा लिएको छ।त्यस्तै, सामान ओसारपसारमा प्रयोग गरिएको तीन लाख रुपैयाँ मूल्य बराबरको लु.प्र.०१-००१ ह ०१९१ नम्बरको इ-रिक्सा र एक लाख रुपैयाँ मूल्य बराबरको लु.८९प ८३६ नम्बरको स्कुटरसमेत नियन्त्रणमा लिइएको छ। बरामद गरिएका सम्पूर्ण सामान तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।