भैरहवा । भैरहवा बहुमुखी क्याम्पसमा स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिएको छ । विधार्थीहरुमा चेतना फैलाउने उद्देश्यले नेपाल विधार्थी संघको क्याम्पस ईकाइ समितिले क्याम्पसका स्तन क्यान्सर सम्बन्धी सचेतनामुलक कार्यक्रम गरेको हो ।
‘विगत भन्दा स्तन क्यान्सरको ग्राफ बढ्दो अवस्थामा छ’, नेपाल विधार्थी संघको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिका सभापति नवराज अर्यालले भने, ‘क्यान्सरबारे सुरुवाती चरणमै थाहा भए उपचार गर्नमा सहज र यसबाट हुने मृत्युलाई न्यून गर्न सकिने भएकोले हामीले विधार्थीहरुको सहभागितामा कार्यक्रम गरेका हौँ ।’
कार्यक्रमका प्रमुख अतिथि सिद्धार्थनगर नगरपालिका-१३ का वडाअध्यक्ष सोमबहादुर गुरुङ्गले नेपाल विधार्थी संघको क्याम्पस ईकाइले धेरै राम्रो कार्यक्रम गरेको भन्दै आगमी दिनहरुमा यस्ता कार्यक्रमहरुका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिका ५ का वडाअध्यक्ष पुरनप्रसाद श्रेष्ठ, नेपाली कांग्रेस सिद्धार्थनगरका सभापति कोशिशबहादुर खड्काले आवश्यकतालाई मध्यनजर गर्दै नेपाल विद्यार्थी संघ क्याम्पस ईकाइले विद्यार्थीहरुको हितमा धेरै राम्रो कार्यहरु गरिरहेको भन्दै आगामी दिनहरुमा यस्ता सचेतनामुलक कार्यक्रम गरिरहनका लागि सुझाव दिए । स्तन क्यान्सर रोग विशेषज्ञ तथा वरिष्ठ सर्जन डा. संजय पाण्डेले स्तन क्यान्सरको सम्भावित कारणहरु, लक्षण तथा चिन्ह र हुनसक्ने जोखिमको विषयमा प्रशिक्षण दिएका थिए ।
नेपाल विद्यार्थी संघ भैरहवा बहुमुखी क्याम्पसको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी माध्यम कक्षा कमिटि छात्रा तर्फको सभापति रशमी रसाईलीको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला उपसभापति आकाश पौडेल, नेपाल विधार्थी संघका भैरहवा बहुमुखी क्याम्पस ईकाइका सचिव उमर बादशाह खान, क्याम्पसको व्यवस्थापन संकाय प्रथम वर्षको नेपाली माध्यम कक्षा कमिटी छात्रतर्फका सभापति श्यामसुन्दर कुर्मी, क्याम्पसको व्यवस्थापन संकाय प्रथम वर्षको अंग्रेजी माध्यम कक्षा कमिटी छात्रतर्फका सभापति आजम खान लगायतको उपस्थिती रहेको थियो ।