मर्चवार । रुपन्देहीको मर्चवारी गाउँपालिका कार्यालयमा गत भदौ २४ गते राति 'जेनजी आन्दोलन' को नाममा भएको तोडफोड र आगजनीबाट १७ लाखभन्दा बढीको क्षति भएको छ। गाउँपालिका अध्यक्ष गया प्रसाद बरईका अनुसार १५-२० जनाको समूहले गरेको आक्रमणमा कम्प्युटर, प्रिन्टर, फर्निचर, विद्युतीय उपकरण, कृषि विषादी र पशु सम्बन्धी औषधि लगायतका सामानहरु नष्ट भएका छन् । अध्यक्ष बरईले यो घटना प्रतिशोधको भावनाले गरिएको बताउनुभएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले क्षतिग्रस्त कार्यालयको निरीक्षण गर्दै सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउनेहरुलाई कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले घटनामा संलग्न सबैलाई पक्राउ गरी कारबाही गरिने बताउनुभएको छ। हाल मर्चवारी गाउँपालिकाको कार्यालय भाडाको घरमा सञ्चालित छ र यसमा ७ वटा वडाहरु छन्।