भैरहवा । रुपन्देही प्रहरीले शैक्षिक प्रमाणपत्र कीर्ते गर्ने एक ठूलो गिरोहको पर्दाफास गरेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देही र इलाका प्रहरी कार्यालय, बेलहियाको संयुक्त टोलीले सञ्चालन गरेको कारबाहीमा ठूलो परिमाणमा नक्कली शैक्षिक सामग्रीसहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
गोप्य सूचनाको आधारमा प्रहरीले भारतको कानपुरस्थित नौवस्तीका २५ वर्षीय अभिषेक यादवलाई आइतबार सीमावर्ती बेलहिया क्षेत्रमा रहेको होटल मुक्तिनाथमा प्रवेश गर्न लाग्दा पक्राउ गरेको हो । रुपन्देहीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) प्रदीप बहादुर क्षेत्रीका अनुसार यादवको साथबाट नेपाल तथा भारतका विभिन्न विश्वविद्यालय र शैक्षिक संस्थाहरूका सयौंको संख्यामा नक्कली प्रमाणपत्र, ट्रान्सक्रिप्ट, होलोग्राम, रबर स्ट्याम्प र अन्य सामग्रीहरू बरामद गरिएको छ ।
सोमबार आयोजित पत्रकार सम्मेलनमा एसपी क्षेत्रीले बरामद सामग्रीबारे विस्तृत जानकारी दिँदै भने, हामीले त्रिभुवन विश्वविद्यालयका १०० थान ट्रान्सक्रिप्ट, ३६ थान प्रमाणपत्र, ३ थान स्ट्याम्पका साथै हजारौंको संख्यामा होलोग्राम र स्टिकरहरू बरामद गरेका छौं । बरामद गरिएका सामग्रीहरूमा त्रिभुवन विश्वविद्यालय, उच्च माध्यमिक शिक्षा परिषद्(अंग्रेजीमा एचएसईबी) , राष्ट्रिय परीक्षा बोर्ड (अंग्रेजीमा एनईबी) , र अंग्रेजीमा सिटिईभिटीका हजारौं थान होलोग्राम समावेश छन । यसका साथै, भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरू जस्तै एमिटी विश्वविद्यालय, जवाहरलाल नेहरु टेक्नोलोजिकल विश्वविद्यालय, छत्रपति शिवाजी महाराज विश्वविद्यालय लगायतका १,२०० भन्दा बढी नक्कली कागजातहरू पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
एसपी क्षेत्रीले यस घटनालाई अत्यन्त गम्भीरतापूर्वक लिइएको बताएका छन । यो केवल एक व्यक्तिको संलग्नता मात्र होइन, यसमा ठूलो गिरोह सक्रिय रहेको हाम्रो आशंका छ उनले भने, ूपक्राउ परेका यादवले आफू मासिक तलबमा काम गर्ने गरेको बयान दिए पनि घटनाको प्रकृति हेर्दा विश्वास गर्ने आधार छैन । हामी यसको सञ्जालबारे गहिरो अनुसन्धान गरिरहेका छौं । प्रहरीले यादवको साथबाट बरामद ल्यापटप, मोबाइल र पेनड्राइभको सूक्ष्म विश्लेषण गरी गिरोहमा संलग्न अन्य व्यक्तिहरू र नक्कली प्रमाणपत्र प्रयोगकर्ताहरूसम्म पुग्ने प्रयास गरिरहेको छ ।
पछिल्लो समय रुपन्देहीमा एसपी प्रदीप बहादुर क्षेत्रीको नेतृत्वमा प्रहरीले अपराध नियन्त्रणमा उल्लेखनीय सफलताहरू हासिल गरेको छ । नक्कली प्रमाणपत्रको यो ठूलो घटना पर्दाफास हुनुलाई पनि प्रहरीको बढ्दो सक्रियता र सफल कारबाहीको पछिल्लो उदाहरणको रुपमा लिइएको छ । चालु आर्थिक वर्षमा मात्रै रुपन्देही प्रहरीले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा ऐतिहासिक सफलता प्राप्त गरेको छ । स्थानीयहरूका अनुसार, एसपी क्षेत्रीको आगमनसँगै जिल्लाको शान्ति सुरक्षामा सुधार आएको र प्रहरीप्रतिको जनविश्वास बढेको छ । नक्कली शैक्षिक प्रमाणपत्र जस्तो गम्भीर अपराधको सञ्जाल तोड्ने यो पछिल्लो कारबाहीले रुपन्देही प्रहरीको व्यावसायिकता र सफल अनुसन्धान क्षमतालाई पुनः एकपटक प्रमाणित गरेको छ ।