पाल्पामा जेठ महिनामा प्रहरीको उल्लेख्य प्रगति: मुद्दा फछ्र्यौटदेखि लाखौँ राजश्व संकलनसम्म

Ujyalosandeshonline 11558+ समाचार ( )
४ असार २०८३, बिहीबार

पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनामा सम्पादन गरेका विभिन्न कार्य तथा गतिविधिहरुको प्रगति विवरण सार्वजनिक गरेको छ । प्रहरी उपरीक्षक दिपेन्द्र पंजियार थारुको नेतृत्व र मातहतका एकाइहरुको सक्रियतापछि जिल्लामा शान्ति सुरक्षाको अवस्था सुदृढ बन्दै गएको स्थानीयले महसुस गरेका छन् । यस अवधिमा अपराध अनुसन्धान, शान्ति सुरक्षा, र सामाजिक सचेतनाका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जेठ महिनामा अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ कुल ३१ वटा नयाँ मुद्दा दर्ता भएकोमा १० वटा फछ्र्यौट भइसकेका छन् भने चालू मुद्दाका १९ जना प्रतिवादी पक्राउ परेका छन् । विगत दुई वर्षदेखि पेण्डिङ अवस्थामा रहेका १३ वटा पुराना मुद्दाहरुलाई समेत प्रहरीले सफलतापूर्वक फछ्र्यौट गरेको छ । यस्तै, फैसला कार्यान्वयनतर्फ फरार रहेका ३ जना प्रतिवादीलाई पक्राउ गरी ४३ लाख ८१ हजार ८०३ रुपैयाँ जरिवाना असुल गरिएको छ । जेठ महिनामा हराएका १७ जनामध्ये १३ जनालाई फेला पारिएको छ भने घरेलु हिंसा र ठाडो उजुरीका अधिकांश मुद्दाहरु मिलापत्र गराइएको छ । चालू महिनामा २६० ग्राम गाँजासहित ३ जनालाई नियन्त्रणमा लिनुका साथै शान्ति सुरक्षाका लागि ३ हजार ५ सय ४४ पटक प्रहरी टोली परिचालन गरिएको थियो ।

यसैगरी, सवारी व्यवस्थापनतर्फ नियम उल्लंघन गर्ने ४९७ वटा सवारी साधनलाई कारबाही गरी ५ लाख ३६ हजार रुपैयाँ राजश्व संकलन गरिएको छ । महिनाभर भएका ९ वटा सवारी दुर्घटनामा ११ जना घाइते वा मृतक भएका छन् । भन्सार छली नियन्त्रणबाट ४ लाख २७ हजार ३४० रुपैयाँ राजश्व संकलन भएको छ भने ३१० लिटर घरेलु मदिरा र प्राकृतिक सम्पदा दोहन गर्ने २ वटा सवारी साधन नियन्त्रणमा लिई २० हजार रुपैयाँ जरिवाना गरिएको छ । विपद् व्यवस्थापनतर्फका ५ वटा आगलागीका घटनामा १० पटक प्रहरी टोली उद्धारमा खटिएको थियो ।

अपराध नियन्त्रणसँगै प्रहरीले समुदाय र विद्यालयस्तरमा सचेतना कार्यक्रमलाई पनि तीव्रता दिएको छ । समुदायस्तरका कार्यक्रमबाट ७७६ जना र १६ वटा विद्यालयका १ हजार विद्यार्थी लाभान्वित भएका छन् । रम्भा गाउँपालिकामा सार्वजनिक सुनुवाइ तथा सीमान्तकृत र पिछडिएका वर्ग लक्षित कार्यक्रमहरु समेत सफलतापूर्वक सम्पन्न गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भिर्मलाल भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार