मर्चवार । मर्चवार लिफ्ट सिँचाइ जल उपभोक्ता संस्थाले नहर अतिक्रमण गरी बनाइएका घरटहरा तोकिएको समयभित्र नहटाइए डोजर लगाएर खाली गराउने चेतावनी दिएको छ। सिँचाइ डिभिजन कार्यालय, रुपन्देहीले नहरको दायाँबायाँ बिना अनुमति निर्माण गरिएका संरचना, पसल तथा डिलका रुख-घाँस १५ दिनभित्र हटाउन सूचना जारी गरेको थियो।
नहरमा सिपेजले पानी खेर गई सिँचाइ क्षेत्र साँघुरिँदै गएकाले आरसीसी ढलान तथा मर्मत कार्य अघि बढाउन संरचना हटाउन लागिएको संस्थाका अध्यक्ष राजेन्द्र यादवले जानकारी दिनुभयो। लुम्बिनी प्रदेश सरकारको बहुवर्षीय बजेटअन्तर्गत पहिलो चरणमा १६ करोड रुपैयाँ लागतमा ७ किलोमिटर नहर ढलानका लागि धनगढीको रोयल कन्स्ट्रक्सन प्रालिलीसँग सम्झौता भइसकेको छ। साथै, संस्थाले नहरलाई व्यवस्थित राख्न फोहोर नफाल्न समेत सर्वसाधारणलाई आग्रह गरेको छ।