भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न स्थानमा पटका पड्काई आतिशबाजी गर्ने ७ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दद्वारा जारी विज्ञप्ति अनुसार कञ्चन गाउँपालिका–१, हात्तिबजार चोकमा भैलो खेलिरहेको बेला पटका पड्किँदा एक जना घाइते भएका थिए ।
सोही घटनामा संलग्न कपिलवस्तु बाणगंगाका कृष्ण परियार र आर्यन परियारसहित रुपन्देहीका विभिन्न स्थानबाट पटका पड्काउने रोहिणी गाउँपालिका वडा नं. ३ धकधई बस्ने किसन मिश्र, सोही गाउँपालिका वडा नं. ४ बस्ने पञ्चम हरिजम, वडा नं. १ बस्ने अंगत कुमार कहार, सिद्धार्थनगर नगरपालिका वडा नं. ४ बस्ने हेमसोल बरई र बुटवल उपमहानगरपालिका वडा नं. ११ बुद्धनगर बस्ने सन्देश परियारलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घाइतेको उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।