मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |
मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |


अध्यक्ष बैजनाथ अग्रहरीको नेतृत्वमा पिपरहवा माविले १८ महिनामै मुहार फेर्‍यो

Ujyalosandeshonline 11005+ समाचार ( )
९ भाद्र २०८२, सोमबार

भैरहवा । रोहिणी गाउँपालिका-५, पिपरहवामा अवस्थित श्री पिपरहवा माध्यमिक विद्यालयले विगत १८ महिनामा कायापलट गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैजनाथ अग्रहरीको नेतृत्वमा विद्यालयले भौतिक पूर्वाधारदेखि शैक्षिक गुणस्तरसम्म उल्लेखनीय प्रगति हासिल गरी गाउँपालिकाकै एक नमुना सामुदायिक विद्यालयको रूपमा आफूलाई स्थापित गरेको छ ।

वि.सं. २०१४ सालमा स्थापना भएको यो ऐतिहासिक विद्यालय केही वर्षअघिसम्म जीर्ण र स्रोतसाधनको अभावमा गुज्रिरहेको थियो । तर, विद्यालयकै पूर्वविद्यार्थी समेत रहनुभएका अग्रहरी व्यवस्थापन समितिको अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि विद्यालयको मुहार फेरिन सुरु भयो । "म यही विद्यालयमा पढेर हुर्किएको हुँ, आफ्नो गाउँठाउँको विकास हामी युवाले नगरे कसले गर्छ?" अध्यक्ष अग्रहरीले भने, "मेरो एउटै चाहना छ, मेरा गाउँघरका बालबालिका गुणस्तरीय शिक्षाका लागि भैरहवा-बुटवल धाउन नपरोस् ।"

अध्यक्ष अग्रहरीको नेतृत्व र व्यवस्थापन समितिको निरन्तर प्रयासले १८ महिनाको छोटो अवधिमा विद्यालय "माइनस" को अवस्थाबाट "प्लस" मा पुगेको छ । यो सफलता शिक्षक तथा विद्यालय व्यवस्थापन समितिबीचको सुमधुर सम्बन्धले सम्भव भएको उनी बताउँछन् ।

यस अवधिमा विद्यालयको भौतिक संरचनामा आमूल परिवर्तन गरिएको छ । विद्यार्थीका लागि साइकल स्ट्यान्ड र सरस्वती मन्दिर निर्माण गरिएको छ भने वर्षौंदेखि अधुरो रहेको चारकोठे भवन र शौचालयलाई पूर्णता दिई आकर्षक ढंगले रंगरोगन गरिएको छ । विद्यालयको सुरक्षाका लागि कम्पाउन्ड पर्खाल र भवनमा रेलिङ निर्माण, पुराना कक्षाकोठाका झ्याल-ढोका मर्मत तथा विद्यालय परिसरमा इन्टरलक टायल बिछ्याउने जस्ता महत्वपूर्ण कामहरू सम्पन्न भएका छन् । साना बालबालिकाको सिकाइ वातावरणलाई ध्यानमा राख्दै बाल विकासदेखि कक्षा २ सम्मका कोठाहरूमा पि-फोम, कार्पेट र आधुनिक टेबलको व्यवस्था गरिएको छ ।

भौतिक सुधारसँगै शैक्षिक गुणस्तरमा पनि विद्यालयले ठूलो फड्को मारेको छ । हालैको कक्षा १० को नतिजामा विद्यालय रोहिणी गाउँपालिकाकै सामुदायिक विद्यालयहरूमध्ये दोस्रो स्थान हासिल गर्न सफल भएको छ । शिक्षक र विद्यार्थीको अनुशासन तथा पठनपाठनको निगरानीका लागि सीसीटीभी क्यामरा जडान गरिएको छ ।

अध्यक्ष अग्रहरीकै विशेष पहलमा आधुनिक विज्ञान प्रयोगशाला स्थापना भएको छ, जसले विद्यार्थीको प्रयोगात्मक सिकाइमा सघाउ पुऱ्याएको छ । साथै, विद्यालयले बिहानी कक्षालाई दिउँसोमा सञ्चालन गरी अनावश्यक खर्च कटौती गरेको छ । यसअघि २०८० सालमा बिहानी कक्षा सञ्चालन गर्दा बाँकी रहेको रु. ८ लाख शिक्षक तलब वडा कार्यालयको सहयोगमा भुक्तानी गरिएको थियो । विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलापमा प्रोत्साहित गर्न हरेक शुक्रबार हाजिरीजवाफ तथा खेलकुद प्रतियोगिता आयोजना गरी पुरस्कृत गर्ने व्यवस्था मिलाइएको छ ।

विद्यालयले भविष्यका लागि समेत महत्वाकांक्षी योजनाहरू अघि सारेको छ । निकट भविष्यमै डिजिटल र निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गर्ने, विद्यार्थीहरूका लागि निःशुल्क कोचिङ तथा कक्षा ११ र १२ का लागि अतिरिक्त कक्षाको व्यवस्था गर्ने लक्ष्य राखिएको छ । यसैगरी, अधुरो बाउन्ड्री वाल पूरा गर्ने, खेल मैदानलाई व्यवस्थित बनाउने, सभा हल र थप शौचालय निर्माण गर्ने योजना छ । शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्ने र अभिभावकका लागि प्रतीक्षालय निर्माण गर्ने जस्ता योजनाहरू पनि प्राथमिकतामा छन् ।

अध्यक्ष अग्रहरीले यो सफलता एक्लो प्रयासले नभई स्थानीय तह, राजनीतिक दल, शिक्षक, अभिभावक र सम्पूर्ण स्थानीयको साथ-सहयोगले सम्भव भएको बताए । उनले भने, "एउटा अध्यक्षले मात्र चाहेर शिक्षामा सुधार हुँदैन । सबैको साथ, सहयोग र सल्लाह जरुरी हुन्छ । आउनुहोस्, सबै मिलेर विद्यालयको विकास गरौं, किनकि शिक्षामा सुधार भयो भने सबैको सुधार हुन्छ ।"

हाल विद्यालयमा बाल विकासदेखि कक्षा १२ सम्म करिब ६ सय विद्यार्थी अध्ययनरत छन् र विद्यालयमा शिक्षकको अभाव नरहेको बताइएको छ । १८ महिनामा भएको यो उदाहरणीय परिवर्तनले पिपरहवा माध्यमिक विद्यालय अन्य सामुदायिक विद्यालयका लागि समेत प्रेरणाको स्रोत बनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार