भैरहवा । रुपन्देही जिल्लामा पछिल्लो एक महिनाको अवधिमा आत्महत्याको भयावह तथ्यांक सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको चैत महिनाको विवरण अनुसार, एक महिनाको छोटो अवधिमा जिल्लाभर २० जनाले आत्महत्या गरेका छन् । ज्यान गुमाउनेहरूमा १८ वर्षमुनिका बालबालिकादेखि ६० वर्षसम्मका ज्येष्ठ नागरिकहरू समेत रहेका छन् ।
प्रहरीको तथ्यांक अनुसार आत्महत्या गर्नेहरूमा पुरुषको संख्या महिलाको तुलनामा दोब्बरभन्दा बढी देखिएको छ । कुल मृतक २० जनामध्ये १४ जना पुरुष र ६ जना महिला रहेका छन् । आत्महत्याका लागि विभिन्न तरिकाहरू अपनाइएको पाइए पनि झुण्डिएर आत्महत्या गर्नेको संख्या सबैभन्दा धेरै छ । विवरण अनुसार १८ जनाले झुण्डिएर र २ जनाले विषादी सेवन गरेर आफ्नो जीवन समाप्त गरेका हुन् ।
उमेर समूहका आधारमा विश्लेषण गर्दा सक्रिय उमेरका व्यक्तिहरूले बढी मात्रामा आत्महत्या गरेको देखिन्छ । चैत महिनामा १८ वर्षमुनिका १ जना, १९ देखि २५ वर्ष उमेर समूहका ५ जना र २६ देखि ३५ वर्ष उमेर समूहका ५ जनाले आत्महत्या गरेका छन् । त्यसैगरी, ३६ देखि ४५ वर्ष उमेर समूहका ६ जना र ४६ देखि ६० वर्ष उमेर समूहका ३ जनाले अकालमै ज्यान गुमाएको प्रहरीको तथ्यांकमा उल्लेख छ । यसरी एकै महिनामा यति ठूलो संख्यामा मानिसहरूले आत्महत्या गर्नुले जिल्लामा मानसिक स्वास्थ्य वा सामाजिक संकटको स्थिति गम्भीर रहेको संकेत गरेको छ ।