पाल्पा । मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय पाल्पाले पाँच जना चालकमाथि सार्वजनिक हित तथा सुरक्षा विरुद्धको अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ । भदौ महिनामा सञ्चालन गरिएको विशेष चेकिङका क्रममा तानसेनका विभिन्न स्थानबाट जिप, ईभी हाइस, अटो रिक्सा र बस चलाउने चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो ।
मापसे गरी सवारी चलाउँदा सर्वसाधारणको सुरक्षामा गम्भीर जोखिम निम्तिएकाले उनीहरूमाथि कडा कारबाही अघि बढाइएको हो । सडक अनुशासन कायम गराउन र सवारी दुर्घटना न्यूनीकरण गर्न प्रहरीले चालेको यस कदमलाई पाल्पाका स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन् ।
प्रहरी उपरीक्षक दिपेन्द्र पञ्जियार थारूको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाले शान्ति सुरक्षा, चुस्त प्रहरी सेवा र सडक सुरक्षामा सुधारका कार्यहरू निरन्तर सञ्चालन गर्दै आएको छ । प्रहरीको सक्रियता र सुधारमुखी नीतिका कारण जिल्लामा आपराधिक गतिविधि नियन्त्रण हुनुका साथै सर्वसाधारणले सुरक्षित र पारदर्शी प्रहरी सेवाको महसुस गर्न थालेका छन् ।