लुम्बिनी । पसलको विमा दाबी र ग्राहकले ऋण बापत धितो राखेको सुनचाँदी पचाउने उदेश्यले आफ्नै पसलमा चोरीको योजना बनाएर चोरी गर्ने बुटवलका एक सुनचाँदी सञ्चालकलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । रुपन्देही को बुटवल उपमहानगरपालिका–५ अमरपथमा सञ्चालनमा रहेको तिनाउ सुनचाँदी पसलमा यहि जेठ १७ गते चोरी भएको घटनामा स्वयं पसलका सञ्चालकको संलग्नता देखिन आएको छ । उक्त घटनामा सुनचाँदी पसल सञ्चालन गर्दै आएका बुटवल उपमहानगरपालिका–३ पुल्चोकका ४१ वर्षीय दीपक विक नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको इलाका प्रहरी कार्यालय बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार पसल सञ्चालक विक जेठ १६ गते बिहान पोखरा गएको अवस्थामा रु एक करोड ४६ लाख ९४ हजार, ७०० बराबरको सुनचाँदीका गरगहना चोरी भएको भनिएको घटनाको सम्बन्धमा अनुसन्धान गर्दा निज विक सोही साँझ बुटवल फर्किएर १७ गते बिहान करिब १ः०० बजेको समयमा आफ्नै पसलका कामदार रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ बस्ने नविन विकको सहयोगमा योजनाबद्ध रुपमा चोरीको नाटक गरेको देखिन आएको प्रहरी उपरीक्षक शाहीले जानकारी दिनुभयो ।
घटनाका सम्बन्धमा नेपाल प्रहरीको लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको विशेष अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले विभिन्न आयामबाट अनुसन्धान गर्दा सञ्चालक र कामदारको संलग्नता देखिन आएकाले दुवैजनालाई पक्राउ गरि अपराधिक विश्वासघात मुद्दामा म्याद थप भई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिनुभयो ।
घटनालगत्तै प्रहरीले विभिन्न स्थानको सिसीटिभी फुटेज सङ्कलन गरी अनुसन्धान गर्दा निज पसल सञ्चालक विक रातिको समयमा पसलमा प्रवेश गरेर करिब दुई घण्टा बढी समयपछि पसलबाट बाहिरिएको देखिन आएको छ । यस्तै पसल बाट बाहिरएपश्चात् तिनाउ पुल पार गरेर बुटवल–२ को बाटो हुँदै निस्किएको प्रहरीले बुटवलका विभिन्न स्थानमा राखिएका सिसी टिभीबाट सङ्कलन गरेका फुटेजबाट देखिन आएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिनुभयो ।
प्रहरीले निज विकको घरमा छापा मारेर बाला दुई थान, लकेटसहितको सिक्री एक थान, सिक्री एक थान, सुनको कानमा लगाउने कानपासा चार थान, झुम्का एक जोडी, कानको बाली एक जोडी, सुनसहितको सेतो र हरियो माला दुई थान, सुनको औँठी तीन थान, सुनको कानको टप एक जोडी, स्टोन फुली, चाँदीको लोटा एक थान, चाँदीको बिच्छु छ थान तथा चाँदीको औँठी एक थान बरामद गरेको जनाएको छ ।
यस्तै पत्रकार सम्मेलनमा जेठ १९ गते राति बुटवल उपमहानगरपालिका–५ विकाशपथस्थित देव सुनचाँदी पसलको सटरमा लगाएको ताला काट्दै गरेको अवस्थामा प्रहरीले गस्तीको बेला फेला पारि चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको प्रहरी नायब उपरीक्षक श्रीवास्तवले जानकारी दिनुभयो ।
यस्तै बुटवल उपमहानगपालिका– ८ सुख्खानगरस्थित राजेशकुमार गुप्ताको घरमा नगद र सुनचाँदीका गरगहना चोरी भएको घटनाको अनुसन्धानमा कपिलवस्तु नगरपालिका–२ बस्ने शिवओम थारुको संलग्नता देखिन आएकाले उनलाई पक्राउ गरी चोरीसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।